पोखरामा न्यून आय भएका व्यक्तिहरुको घर निर्माण गर्न त्रिपक्षीय सम्झौता

हिमाली आवाज । न्यून आय भएका व्यक्तिहरूको आवास निर्माण तथा आय आर्जनका लागि सहुलियत ब्याजदरमा ऋण उपलव्ध गराइने भएको छ ।

पोखरा महानगरपालिका क्षेत्रभित्र न्यून आय भएका व्यक्तिहरूलाई लक्षित गरी न्यून लागतका एक सय वटा व्यवस्थित घर निर्माण गर्ने सम्वन्धमा पोखरा महानगरपालिका, लुमन्ति आवासको लागि सहयोग समूह र कामना सेवा विकास बैँङ्कबीच सम्झौता गरिएको हो । यससँगै महानगर क्षेत्रमा १०० नयाँ व्यवस्थित घर निर्माण हुनेछ ।

सम्झौतामा महानगरपालिकाका प्रमुख धनराज आचार्य, लुमन्ति आवासको लागि सहयोग समूहको तर्फबाट कार्यकारी निर्देशक लजना मानन्धर र कामना सेवा विकास बैँङ्कका प्रमुख कार्यकारी अधिकृत विनय दाहालले हस्ताक्षर गर्नुभएको छ ।

पोखरा महानगरपालिका क्षेत्रभित्र सुरक्षित आवासको व्यवस्था नभएका तथा न्यून आय भएका वर्गलाई लक्षित गरी त्रिपक्षीय सहकार्यमा यो योजना लागू गरिएको हो ।

महानगरपालिकाले निर्धारण गरेको मापदण्ड भित्र सिफारिस भई आए बमोजिम कामना सेवा विकास बैँङ्कले नयाँ घर निर्माण तथा मर्मत सुधारका लागि अधिकतम रु सात लाखसम्म न्यून लागत आवास कर्जा प्रवाह गर्नेछ ।

लाभग्राहीले पाउने न्यून लागत आवास कर्जाको सात लाख मध्ये लुमन्तिले ४० प्रतिशत, पोखरा महानगरपालिकाले १० प्रतिशत र ५० प्रतिशत कामना सेवा विकास बैँङ्कले लगानी गर्नेछ । सम्झौताको कुल रकम रु सात करोड रहेको छ ।

प्रत्येक लाभग्राहीलाई रु सात लाखका दरले वार्षिक नौ दशमलव ९९ प्रतिशत ब्याजदरमा सात वर्षभित्र रु ११ हजार ६१७ का दरले ८४ किस्तामा तिर्ने गरी न्यून लागत आवास कर्जा उपलब्ध गराइने छ । सम्झौता अनुसार एक वर्ष भित्र १०० वटा घर बनाउने कार्य सम्पन्न गरिनेछ ।
पोखरा महानगरपालिकाका प्रमुख आचार्यले महानगरपालिका भित्र आफ्नै जमिन भएका तर, कमजोर आर्थिक अवस्थाका कारण आवास विहीन भई बस्नु परेका नागरिकका लागि यो सहुलियतपूर्ण सहायता निकै महत्वपूर्ण हुने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, “महानगर भित्र हाल १९ हजार ८ बढी भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीहरुको आँकडा रहेको छ, हामी अहिले उनीहरूलाई निस्सा वितरण गरिरहेका छौँ । यसबिचमा न्यून आय भएका व्यक्तिहरूलाई लक्षित गरी न्यून लागतका सुरक्षित आवास निर्माणको सम्झौता भएको छ, यसले घर नहुनेहरूलाई घरको मालिक बनाउने छ ।”महानगर प्रमुख आचार्यले आफ्नो कार्यकाल भित्रमा यस प्रकृतिका एक हजार घरहरू निर्माण गर्ने जानकारी दिनुभयो ।

लुमन्तिकी कार्यकारी अधिकृत लजना मानन्धरले गरिबी न्यूनीकरण, सामाजिक परिचालन तथा सामाजिक विकास तथा सुशासन प्रबद्र्धनमा आफूहरू लागि रहेको बताउनुभयो ।

पोखरा महानगरपालिका, लुमन्तिको सहयोग र कामना सेवा विकास बैङ्कको सहयोगमा हाल सम्म एक हजार ३७ घर निर्माण तथा मर्मत र बाँसको घर ४५ तथा गन्धर्व बस्तीमा छ वटा नयाँ गरी एक हजार ८८ घरहरू निर्माण गरिएका जानकारी दिनुभयो ।

Comments
Loading...