हिमाली आवाज । पोखराबाट टेनिस खेल्न सुरु गर्नुभएका पोखरेली खेलाडी अभिशेक बास्तोला अन्तर्राष्ट्रिय टेनिस महासंघ(आइटिएफ)को विश्व वरियतामा पर्न सफल हुनुभएको छ ।
हाल अमेरिकामा व्यावसायिक टेनिस खेल्दै आउनुभएका उहाँले हालै आइटिएफको एक हजार ७९० बरियतामा उक्लिनुभएको हो । बास्तोला आइटिएफ बरियता प्र्राप्त गर्ने पहिलो नेपाली खेलाडी समेत हुनुहुन्छ ।
अमेरिकामा अध्ययन सहित आफ्नो खेल जीवन अघि बढाउँदै आउनुभएका २३ वर्षिय बास्तोलाले विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्नुभएको छ ।
पोखरामा आज कास्की जिल्ला टेनिस सङ्घले आयोजना गरेको कार्यक्रममा अभिषेकले विश्व वरियताको दुई हजार भन्दा तल पर्नु सामान्य कुरा नभएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “आठ वर्षको हुँदा पोखरामा टेनिस खेल्न सुरु गरेँ । यहाँबाटनै मेरो टेनिस यात्रा सुरु भयो । १५ वर्षको अवधिमा अहिले प्राफेशनल ¥याङकिङ प्राप्त गर्दा गौरव महशुस भएको छ । टेनिसको व्यावसायिक यात्रा सुरु भएको छ । ”
दशौं हजार खेलाडीहरुको बीचमा समेत सो स्थानमा आउनु खेलाडीको लागि ठूलो उपलब्धि भएको उल्लेख गर्नुभयो । उहाँले यस वर्ष एक हजार हाराहारीमा आउने र अर्को वर्ष ५०० भित्रको बरियतामा पर्ने गरी मेहनत गर्ने बताउनुभयो ।
१३ वर्षको उमेरदेखी अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न सुरु गरेको अभिषेकले बताउनुभयो । “अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा नेपालको झण्डा लिएर खेल्न पाउँदा गौरवको महशुस हुने गरेको छ । हालसम्म विभिन्न १४ राष्ट्रमा प्रतियोगिता खेलिसकेकाले देशलाई चिनाउने गरेको छु ।” बास्तोलाले भन्नुभयो ।
नेपाल टेनिस संघका केन्द्रीय उपाध्यक्ष बिनोद कायस्थले अभिषेकले हासिल गरेको उपलब्धीले सम्पूर्ण नेपालीलाई लागि गौरवान्वित बनाएको बताउनुभयो ।