अन्नपूर्ण गाउँपालिकाले थाल्यो रेष्टुरेन्ट र किराना पसल अनुगमन

हिमाली आवाज । कास्कीको अन्नपूर्ण गाउँपालिकाले बजार अनुगमन गर्न सुरू गरेको छ । गाउँपालिका उपभोक्ता हित संरक्षण तथा बजार अनुगमन शाखा प्रमुख नारायण क्षेत्री संयोजकत्वको टोलीले गाउँपालिकाका रेष्टुरेन्ट र किराना पसलमा अनुगमन सुरू गरेको हो ।

बजार अनुगमनसम्बन्धी कार्यविधि २०७४ सालमै बने पनि गाउँपालिकाले बजार अनुगमन गरेको यो पहिलोपटक हो । २ महिनाअघि क्षेत्री संयोजक भएपछि पहिलोपटक अनुगमन थालिएको हो ।

मंगलबार अन्नपूर्ण–१ को फेदी, लेवाडे, नौडाँडा ३५ वटा रेष्टुरेन्ट र किराना पसलको अनुगमन गरिएको संयोजक क्षेत्रीले जानकारी दिनुभयो । ३५ मध्ये प्रायः किराना पसल र रेष्टुरेन्टमा म्याद गुज्रेका सामान भेटिएको उहाँले बताउनुभयो । ‘आफैं त्यसलाई नष्ट गर्नुस् भन्यौं । अर्कोपटक भेटिए हामी नष्ट गर्छौं भन्ने चेतावनी दिएर एकपटकलाई छोडेका छौं,’ संयोजक क्षेत्रीले भन्नुभयो ।

उहाँका अनुसार अनुगमन गरिएकामध्ये एकाध बाहेक पसलको नवीकरण मिति सकिएको पाइयो । नवीकरण नगरेकालाई एक हप्ताभित्र गाउँपालिकामा आएर कर चुक्ता गर्न लिखित चेतावनी दिइएको संयोजक क्षेत्रीले जानकारी दिनुभयो ।

‘कतिपयले व्यवसाय दर्ता नगरेको पनि भेटियो । २०७५÷०७६ देखि नवीकरण मिति गुज्रेको पाइयो,’ संयोजक क्षेत्रीले थप्नुभयो,‘एक हप्ताको समय दिएर गाउँपालिकामा दर्ता गर्न, कर चुक्ता गर्न लिखित चेतावनी दिएका छौं । पछि फेरि फलोअप गर्छौं ।’

अन्नपूर्णमा ५ सदस्यीय बजार अनुगनम समिति छ । उपभोक्ता हित संरक्षण तथा बजार अनुगमन शाखा प्रमुखको संयोजकत्वको टोलीमा गाउँपालिकाकै राजस्व शाखा प्रमुख, स्वास्थ्य शाखा प्रमुख, स्थानीय प्रहरी चौकीका प्रतिनिधि र एक जना पत्रकार सदस्य रहने व्यवस्था गाउँपालिकाको अनुगमन कार्यविधिले व्यवस्था गरेको छ ।

Comments
Loading...