मुस्ताङमा चौँरीको आलो रगत पिउनेको भीड,बाहिरबाट धेरै आए

गलेश्वर । मुस्ताङको थासाङ गाउँपालिका– २ बोक्सी खोलामा वैशाख आठ गतेदेखि सुरु भएको चौरीको आलो रगत पिउने मेलामा भीड लागेको छ । याक र चौंरीबाट आलो रगत निकालेर पिउने मानिसको भीड बढेको हो ।

मेलामा मुस्ताङी भन्दा म्याग्दी, पोखरा, चितवन, नवलपरासी, तनहुँ, पर्वत, बुटवल, काठमाडौँबाट आउने धेरै छन् । रोग सञ्चो हुने विश्वासमा बच्चा, बिरामी, वृद्धसमेत बोक्सी खोलामा आएका स्थानीय गोविन्द शेरचनले जानकारी दिृनुभयो । हिमाली खर्कमा चरेका चौँरीहरूले पाँचऔंले, निरमसी, जटामसी, यार्सागुम्बाजस्ता जडीबुटी खाने हुँदा त्यसको रगत सेवनले मानिसको पेटसम्बन्धी रोग निको हुने विश्वासले मानिस चौरीको आलो रगत पिउन आउने गरेका स्थानीयवासीले बताएका छन् ।

“पहिले यसलाई चौँरीको रगत पिउने मेला मात्र भनिन्थ्यो,अहिले मेलाको रुपमा मात्र नलिएर प्राकृतिक चिकित्सा र चौंरीको स्वास्थ्यसँग पनि जोडेर हेरिएको छ”, स्थानीय नरबहादुर हिराचनले भन्नुभयो ।

रगत निकाल्नाले चौंरी स्वस्थ हुने भएकाले वर्षमा दुई पटक चौरीको शरिरबाट रगत झिक्ने र मानिसले पिउने गरेको धौलागिरि चौँरीपालन समूहमा आवद्ध गोविन्द शेरचनले बताउनुभयो ।

हिमाली क्षेत्रमा पाइने यार्सागुम्बा, पाँचऔँले, जटामसीलगायत जडीबुटी खाएका चौँरीगाईको रगत पिएमा ग्याष्टिक, कमलपित्त, सुन्नेको र छालासम्बन्धी रोगसमेत निको हुने बढ्ने विश्वास गरिन्छ । पालो परेको गोठको चौँरी ल्याएर राखिन्छ मेलामा ।

Comments
Loading...