पोखरा ‘स्पोर्ट्स अवार्ड’को चार विधामा मनोनयन सार्वजनिक

हिमाली आवाज । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले पोखरामा आयोजना गर्न लागेको सातौं संस्करणको ‘पोखरा स्पोर्ट्स अवार्ड २०७९’ को मनोनयन सार्वजनिक गरिएको छ ।

मञ्चले आज पोखरामा कार्यक्रम आयोजना गरी चार विधामा मनोनयनमा पर्न सफल भएका तीन÷तीन जना खेलाडी र प्रशिक्षकको नाम सार्वजनिक गरेको हो । यही बैशाख २३ गते शनिबार पोखरा सभागृहमा अवार्ड वितरण कार्यक्रम हुनेछ ।

गत वर्ष आयोजना गरिएका विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा खेलाडी तथा प्रशिक्षकले प्राप्त गरेको उपलब्धिको आधारमा मनोनयन सार्वजनिक गरिएको मञ्चका अध्यक्ष दीननाथ बरालले बताउनुभयो ।

वर्ष खेलाडी पुरुष तर्फ क्रिकेटका करण केसी( बागलुङ), आर्चरीका गंगाबहादुर कुँवर(तनहुँ) र टेनिसका प्रदीप खड्का(कास्की) मनोनयनमा पर्नुभएको छ ।

वर्ष खेलाडी महिलातर्फ आर्चरीका रोजिना थापा मगर(बागलुङ), फुटवलकी सावित्रा भण्डारी(लमजुङ) र आइटिएफ तेक्वान्दोकी सुस्मिता थापा मगर(बागलुङ) रहनुभएको छ ।

यसैगरी वर्ष उत्कृष्ट प्रशिक्षक तर्फ आर्चरीका किशोर कुमार गुरुङ(स्याङ्जा), लनटेनिसका निरज थापा(कास्की) र आइटिएफ तेक्वान्दोका सुरज सुनार(कास्की) मनोनयनमा पर्नुभएको छ । वर्ष खेलाडी पुरुष र वर्ष खेलाडी महिला हुन सफल खेलाडीले इलेक्ट्रिक स्कुटर र ट्रफी हात पार्नेछन् ।

उदियमान खेलाडीतर्फ भलिवलका रवि केसी(बागलुङ), फुटवलका सुमित श्रेष्ठ(कास्की) र क्रिकेटका सुवास भण्डारी(बागलुङ) मनोनयमा पर्नुभयो ।

मञ्चले प्रदान गर्ने कुल सात विधा मध्ये बाँकी विधाहरु लाइफटाइम एचिभमेन्ट अवार्ड, वर्ष उत्कृष्ट खेल संघ र पत्रकारिता अवार्डको घोषणा आगामी दिनमा सार्वजनिक गरिने मञ्चका महासचिव राजाराम पौडेलले बताउनुभयो ।

वर्ष उत्कृष्ट उदियमान खेलाडी, वर्ष उत्कृष्ट प्रशिक्षक वर्ष उत्कृष्ट खेल पत्रकार र वर्ष उत्कृष्ट खेलकुद संघसंस्था वा क्लबतर्फका विजेताले नगद रु ३५ हजारको साथमा ट्रफी पाउने छन् । ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’ प्राप्त गर्नेनलाई चाँदीको करुवा, ट्रफी, ताम्रपत्र र दोसल्ला सम्मान गरिनेछ ।
अवार्ड कार्यक्रम सम्पन्न गर्न रु ३२ लाख ३५ हजार खर्च लाग्ने अनुमान गरिएको र सो खर्च व्यवस्थापनको लागि रु ३५ लाख आम्दानी गर्ने लक्ष्य राखिएको अध्यक्ष बरालले बताउनुभयो । मञ्चले बचत भएको रकम पत्रकार कल्याणकारी अक्षयकोष तथा वृत्ति विकासका तालिममा खर्च गरिने जनाएको छ ।

मञ्च गण्डकी प्रदेशका सम्पूर्ण खेलकुद पत्रकारको साझा संस्था हो । यो विसं २०५७ मा खेलकुद पत्रकार मञ्च कास्कीका रुपमा स्थापना भएको थियो ।देश संघीयतामा गएसँगै यसलाई नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी प्रदेशका रुपमा स्तोरोन्नति गर्दै स्वायत्त संस्थाको रुपमा विकास गरिएको छ ।

मञ्चमा हाल ७४ जना पत्रकार मञ्चमा आवद्ध छन् । खेलाडीलाई उर्जा थप्न नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले विसं २०७२ देखि हरेक वर्ष पोखरा स्पोर्ट्स अवार्ड गर्दै आएको छ ।

Comments
Loading...