राज्यद्धारा वेपत्ता पूर्ण पौडेलको स्मरणमा पोखरामा प्रतिष्ठान,अध्यक्षमा केदार पौडेल

हिमाली आवाज । नेकपा(माओवादी)ले सञ्चालन गरेको १० वर्षे जनयुद्धका क्रममा बेपत्ता हुनुभएका अखिल क्रान्तिकारीका तत्कालीन महासचिव पूर्ण पौडेलको नाममा पोखरामा प्रतिष्ठान स्थापना गरिएको छ ।

विसं २०५९ मा आजकै दिन राजधानी काठमाडौँबाट सुरक्षाकर्मीद्धारा गिरफ्तार पोखराका पौडेल हालसम्म पनि बेपत्ताको अवस्थामा हुनुहुन्छ । उहाँ बेपत्ता भएको दिन पारेर आज उहाँको स्मरण तथा प्रतिष्ठान घोषणा गरिएको हो ।

पोखरामा आज आयोजित एक कार्यक्रमका बीच प्रतिष्ठान घोषणा गरिएको हो । अग्रज पत्रकार कोमलना बरालले घोषणा गर्नुभएको प्रतिष्ठानमा वेपत्ता पौडेलकी आमा मोतीमाया पौडेल संरक्षक हुनुहुन्छ भने प्रतिष्ठानको अध्यक्षमा वेपत्ता पौडेलका दाजु केदार पौडेल रहनुभएको छ । उपाध्यक्षमा कमल पौडेल, सचिवमा पौडेलकी जीवन संगिनी सावित्रा दुरा र कोषाध्यक्षमा तेजकुमारी पौडेल हुनुहुन्छ ।

प्रतिष्ठानको सदस्यहरुमा वखानसिंह गुरुङ, महेन्द्रमणी पौडेल, पूर्णजित पुन, शिव खनाल, डा.रवी थापा, रश्मी थापा, रवीप्रकाश गुरुङ, कल्पना चिलुवाल र शुक्र चुमान रहनुभएको छ ।

प्रतिष्ठानले सहिद, वेपत्ता तथा घाईतेहरुको हक, हित र अधिकारका बारेमा बहस पैरवी गर्नुका साथै सामाजिक कार्यहरु गर्ने प्रतिष्ठानका अध्यक्ष पौडेलले बताउनुभयो ।

बेपत्ता पौडेलको जन्म विसं २०३१ साल कार्तिक ११ गते बुबा गंगाप्रसाद पौडेल र आमा मोतिमायाको कोखबाट भएको हो । उहाँ २०५२ सालमा अखिल(क्रान्तिकारी) केन्द्रीय सदस्यका रुपमा निर्वाचित हुनु भएको थियो । २०५७ सालमा केन्द्रिय महासचिव र २०५८ सालको १५ औं राष्ट््िरय सम्मेलनबाट पनि महासचिवमै निर्वाचित हुनुभयो ।

विसं २०५९ साल वैशाख १३ गतेका दिन तत्कालीन सरकारले उहाँलाई राजधानीबाट गिरफ्तार गरी बेपत्ता बनाएको थियो। पौडेल नेपाली विद्यार्थी आन्दोलनमा नेतृत्वको शीर्ष तहबाट बेपत्ता पारिनेहरुको पंक्तिमा रहनुभएको छ ।

Comments
Loading...