गण्डकीमा मन्त्रालयको संख्या नबढ्ने,मुख्यमन्त्रीमा आलोपालो : नवनियुक्त मुख्यमन्त्री पाण्डे

हिमाली आवाज । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सरकारको ध्यान अब कृषिमा अधारित साना उद्योग स्थापना गरी स्वरोजगार सिर्जनामा केन्द्रित हुने बताउनुभएको छ ।

प्रदेशप्रमुखबाट आज मुख्यमन्त्रीमा नियुक्त भएसँगै सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले पर्यटन, जलविद्युत र कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर सरकारले काम गर्ने बताउनुभयो ।

मुख्यमन्त्री पाण्डेले भन्नुभयो,“अहिले जमिन बाँझा छन्, घरहरु रित्ता छन् धेरै युवा विदेश पलायन भएका छन् । हामीले विदेशिएका युवाहरुलाई सरकारको तर्फबाट सहयोगपुग्ने गरी यहीँ प्रदेशभित्र बसेर काम गर्ने र आत्मनिर्भर बन्ने गरी कृषिमा आधारित कार्यक्रम ल्याउछौँ ।”
नवनियुक्त मुख्यमन्त्री पाण्डेले हाल कायम रहेका सात मन्त्रालयलाई यथावत राख्ने बताउनुभयो । यसअघि गण्डकीमा १२ मन्त्रालय रहेकामा अघिल्लो सरकारले घटाएर मन्त्रालय सातमा झारेको थियो ।

उहाँले मन्त्रिपरिषद्लाई छिट्टै पूर्णता दिने र आफूलाई समर्थन गर्ने सबै दलहरुलाई सरकारमा समेत सामेल गर्ने बताउनुभयो । उहाँले वर्तमान सत्ता गठबन्धन संसदको पूरा कार्यकाल कायम रहने र प्रदेश सरकारको नेतृत्वमा आलोपालो हुने बताउनुभयो ।

नेपाली काँग्रेस संसदीय दलका नेता समेत रहनुभएका पाण्डेलाई आज प्रदेश प्रमुख पृथ्वीमान गुरुङले मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको होे । पाण्डेलाई नेपाली काँग्रेसका २७, नेकपा(माओवादी केन्द्र)का सात र स्वतन्त्र एक गरी ३५ सांसदको समर्थन छ ।

गत वैखाख १२ गते प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान गर्नुभएको थियो ।

वर्तमान मुख्यमन्त्री खगराज अधिकारीले संसदमा विश्वासको मत प्राप्त गर्न नसकेपछि प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया सुरु भएको हो ।
गण्डकीमा काँग्रेस र माओवादीले आलोपालो सरकार सञ्चालनको सहमति गरेका छन् । सुरुको पालोमा काँग्रेसले सरकारको नेतृत्व गर्ने अवसर पाएको हो ।

नेकपा(माओवादी केन्द्र) संसदीय दलका नेता हरिबहादुर चुमानले नेपाली काँग्रेस र माओवादी केन्द्रबीच प्रदेश सरकारका आधा÷आधा कार्यकाल सञ्चालन गर्ने गरी केन्द्रमा सहमति भएको बताउनुभयो ।

उहाँले मन्त्रालय भागबण्डा लगायतका विषयमा अब छलफल सुरु हुने बताउनुभयो । नवनियुक्त मुख्यमन्त्री पाण्डेले शुक्रबार पद तथा गोपनियताको शपथ लिने कार्यक्रम रहेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । मुख्यमन्त्रीको शपथसँगै भोलीनै सानो आकारको मन्त्रिमण्डल गठनको तयारी गरिएको छ ।

Comments
Loading...