‘कोशी प्रदेश’ नामकरण विरुद्ध पोखरेली पहिचान पक्षधर,आन्दोलनमा ऐक्यवद्धता

हिमाली आवाज । प्रदेश नं १ को नाम कोशी प्रदेश राख्ने गरी प्रदेशसभाबाट नामकरण गरिएपछि यति बेला पूर्वमा पहिचान पक्षधरहरुको आन्दोलन चलिरहेको छ ।जातीय पहिचानसहितको प्रदेशको माग गर्दै विभिन्न समुदाय र सङ्गठनले नामकरणको विरुद्धमा आन्दोलन गरेका हुन् ।

पूर्वमा पहिचानका लागि आन्दोलन भइरहँदा पोखरामा क्रियाशील विभिन्न संघ संस्थाले पनि त्यस आन्दोलनमा साथ र सहयोगको प्रतिवद्धता जनाएका छन् । पहिचान राष्ट्रिय मुक्ति आन्दोलनसँग जोडिएको भन्दै उनीहरुले आन्दोलनमा ऐक्यवद्धता समेत जनाएका छन् । पोखरामा आज पत्रकार सम्मेलन गरी विभिन्न संघ संस्थाले पूर्वमा भइरहेको आन्दोलनमा साथ र सहयोग रहेको स्पष्ट पारे ।

उनीहरुले कोशी नाम अविलम्ब खारेज गरी पहिचान पक्षधर आन्दोलनकारीको माग अनुसार ऐतिहासिक सभ्यता र पहिचानको आधारमा पुनः नामकरण गर्न समेत माग गरेका छन् ।

नेपाल आदिवासी जनजाति महासंघ गण्डकी प्रदेश समन्वय परिषद, नेपाल आदिवासी जनजाति महासंघ कास्की जिल्ला समन्वय परिषद, नेपाल तामाङ घेदुङ कास्की, नेपाल कुमाल समाज सुधार कास्की, अखिल नेपाल आदिवासी जनजाति महासंघ गण्डकी प्रदेश, पूर्वेली एकता समाज कास्की, किराँत सेवा समाज कास्की, किराँत याक्थुङ चुम्लुङ कास्की र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले प्रदेश नं १ मा चलिरहेको पुनः नामाङ्करणको मागप्रति ऐक्यबद्धता जनाएका हुन् ।

आदिवासी महासंघ गण्डकी प्रदेश समन्वय परिषदका अध्यक्ष धर्मबहादुर गुरुङ, नेपाल आदिवासी जनजाति महासंघ कास्की जिल्ला समन्वय परिषदका अध्यक्ष मानेन्द्र कुमाल, नेपाल तामाङ घेदुङ कास्कीका अध्यक्ष भक्त डुम्जङ तामाङ, नेपाल कुमाल समाज सुधार कास्कीका अध्यक्ष चेतबहादुर कुमाल, अखिल नेपाल आदिवासी जनजाति महासंघ गण्डकी प्रदेशका अध्यक्ष बमबहादुर छन्त्याल, पूर्वेली एकता समाज कास्कीका अध्यक्ष गुणराज बास्तोला, किराँत सेवा समाज कास्कीका अध्यक्ष दीपेन्द्र राई, किराँत याक्थुङ चुम्लुङ कास्कीका अध्यक्ष धनबहादुर थेवे, किराँत सेवा समाज कास्कीका निवर्तमान अध्यक्ष लोकेन्द्र राई, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका केन्द्रीय सदस्य अटल राई, किराँत समाज कास्कीका निवर्तमान सचिव नवीन राई, किराँत भाषा लिपी संरक्षक तथा प्रशिक्षक दीनेश लिम्वु, लोकोत्तर अभियानका अभियन्ता एवम् नेपाल तामाङ घेदुङका पूर्व केन्द्रीय अध्यक्ष धनप्रसाद तामाङले संयुक्त विज्ञप्ती जारी पहिचान पक्षधर र आदिवासी जनसमुदायहरुसँग कुनै परामर्श नगरी प्रदेशसभा सदस्यहरुलाई समेत मताधिकारी नदिई निरंकुश शैलीमा प्रदेश नामकरण गरिएको बताएका हुन् ।

ै किराँत सेवा समाज कास्कीका अध्यक्ष दीपेन्द्र राईले पहिचानको आन्दोलन राई, लिम्वु वा कुनै जाति विशेषको लडाईं नभएको बताउनुभयो । उहाँले भन्नुभयो,“पहिचान राई, लिम्बुको मात्र होइन, आफ्नो पहिचान भएका सबैको आन्दोलन हो । यो राष्ट्रिय मुक्ति आन्दोलनसँग समेत जोडिएको छ।”

नेपाल आदिवासी जनजाति महासंघ गण्डकी प्रदेश समन्वय परिषदका अध्यक्ष धर्मबहादुर तमुले पहिचानको आन्दोलनप्रति आफूहरुको समर्थन र ऐक्यबद्धता रहेको बताउनुभयो ।

लोकोत्तर अभियानका अभियन्ता एवम् नेपाल तामाङ घेदुङका पूर्व केन्द्रीय अध्यक्ष धनप्रसाद तामाङले किराँत पहिचान, सभ्यता र संस्कृति भएकाले उसलाई पहिचान दिन राज्यले कञ्जुस्याईं गर्न नहुने बताउनुभयो ।

किराँत भाषा लिपी संरक्षक तथा प्रशिक्षक दीनेश लिम्वुले मुक्ति आन्दोलनसँग जोडिएको पहिचानको आन्दोलन निश्कर्षमा पु¥याएरै छाड्नुपर्ने प्रतिवद्धता जनाउनुभयो ।

Comments
Loading...