कास्की जिल्ला वुमन्स टि–ट्वान्टी क्रिकेट च्यालेन्जर ट्रफी : कास्की ‘बी’को बिजयी यात्रा

हिमाली आवाज । कास्की जिल्ला वुमन्स टि–ट्वान्टी क्रिकेट च्यालेन्जर ट्रफी प्रतियोगितामा कास्की ‘बी’ले बिजयी यात्रा जारी राखेको छ । कास्की जिल्ला क्रिकेट संघ (क्यान)को आयोजनामा शनिबारदेखि पोखरा रंगशालामा शुरु भएको प्रतियोगिताको दोश्रो खेलमापनि कास्की ‘बी’ बिजयी भएको हो ।

आईतबार भएको दोश्रो खेलमा कास्की ‘बी’ले कास्की ‘ए’लाई ७० रनले हराएको छ । टस जितेर ब्याटिङ रोजेको कास्की ‘बी’ले पूरै ओभर खेल्दै १२९ रन बनाएको थियो । १३० रनको लक्ष्य पछ्याएको कास्की ‘ए’ पूरै ओभर खेल्दै ५९ रनमा सिमित भएपछि कास्की ‘बी’ बिजयी भएको कास्की जिल्ला क्रिकेट संघका सचिव बिरेन पुनले जानकारी दिनुभयो ।

आईतबारको खेलमा कास्की ‘बी’ की कप्तान श्रृष्टी जैसीले नटआउट ५१ रनको योगदान गर्नुभयो । बलिङतर्फपनि १ विकेट लिनुभयो । आईतबारको खेलमापनि अलराउण्ड प्रदर्शन गरेकी श्रृष्टी जैसी वुमन अफ दी म्याच घोषित भएको सचिव पुनले बताउनुभयो ।

यसअघि शनिबार भएको पहिलो खेलमापनि कास्की ‘बी’ बिजयी भएको थियो । सो खेलमा कास्की ‘बी’ले कास्की ‘ए’लाई ५ विकेटले पराजित गरेको थियो । टस जितेर ब्याटिङ गरेको कास्की ‘बी’ले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १२० रन बनाएको थियो । जवाफी ब्याटिङ गरेको कास्की ‘ए’ ५ विकेट गुमाएर लक्ष्य पूरा गर्दै बिजयी भएको सचिव पुनले बताउनुभयो ।२८ बलमा ४० रन बनाएकी श्रृष्टी जैसी शनिबारको खेलमा उमन अफ दी म्याच घोषित हुनुभएको थियो ।

पोखरा रंगशालामा शुरु भएको प्रतियोगिताको पोखरा महानगरपालिकाका कार्यवाहक मेयर मोतीराज तिमिल्सिनाले शनिबार उद्घाटन गर्नुभयो । उहाँले प्रतियोगिताले महिला क्रिकेट खेलाडीलाई प्लेटफर्म प्रदान गरेको र यसले कास्कीको क्रिकेट उकास्न महत्वपूर्ण योगदान दिने विश्वास व्यक्त गर्नुभयो ।

उद्घाटन कार्यक्रम कास्की जिल्ला क्रिकेट संघका अध्यक्ष सञ्जयकान्त सिग्देलको अध्यक्षतामा भएको थियो ।यसैबीच, प्रतियोगिताको उपाधि भिडन्त भोलि सोमबार हुने भएको छ । कास्की ‘ए’ र कास्की ‘बी’ गरेर दुई टिमको सहभागिता रहेको प्रतियोगिताको उपाधि भिडन्त सोमबार हुने सचिव पुनले बताउनुभयो ।प्रतियोगितामा बिजेता र उपबिजेता दुबैलाई ट्रफी र प्रमाणपत्र प्रदान गरिने सचिव पुनले बताए ।

Comments
Loading...