पोखरा स्पोर्ट्स अवार्ड:को बन्ला वर्ष उत्कृट महिला खेलाडी ?

हिमाली आवाज । सातौँ संस्करणको पोखरा स्पोर्टस् अवार्डको तयारी भइरहेको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गर्दै आएको अवार्ड समारोह यही वैशाख २३ गते पोखरा सभागृहमा हुँदैछ ।खेल क्षेत्रमा लागेर समाज र देशका लागि योगदान गरेका खेलकुदकर्मीहरुलाई मञ्चले भव्य समारोहकाबीच अवार्ड प्रदान गर्नेछ ।

सातौँ संस्करणमा वर्ष खेलाडी महिला, वर्ष खेलाडी पुरुष, लाइफटाइम अचिभमेन्ट अवार्ड, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उदीयमान खेलाडी, वर्ष उत्कृष्ट खेलकुद संघसंस्था वा क्लब र वर्ष उत्कृष्ट खेल पत्रकारलाई अवार्ड प्रदान गरिनेछ ।मञ्चले वर्ष उत्कृष्ट खेलाडी महिला, पुरुष, उत्कृष्ट प्रशिक्षक र उदीयमान खेलाडीको मनोनयन सार्वजनिक गरिसकेको छ ।पोखरा स्पोर्ट्स अवार्डमा वर्ष उत्कृष्ट खेलाडी महिलातर्फको उपाधिका लागि तीन जना खेलाडीबीच प्रतिष्पर्धा हुँदैछ ।

आर्चरीका रोजिना थापा मगर(बाग्लुङ), फुटबलका सावित्रा भण्डारी(लमजुङ) र आइटिएफ तेक्वान्दोका सुस्मिता थापा मगर(बाग्लुङ) उत्कृष्ट खेलाडीको मनोनयनमा पर्नुभएको छ । खेलाडी अघिल्लो वर्ष खेल क्षेत्रमा प्राप्त गरेको सफलताका आधारमा उत्कृष्ट खेलाडी छनोट हुनेछन् ।

विसं २०५९ मा जन्मिएका रोजीनाले विसं २०७२ देखि आर्चरी खेल्न सुरु गर्नुभयो । उहाँले विसं २०७३ मा आयोजना गरिएको राष्ट्रिय आर्चरी प्रतियोगितामा पहिलोपटक स्वर्ण पदक हात पार्नुभयो । त्यसैगरी सोही वर्ष सम्पन्न सातौ राष्ट्रिय खेलकुदमा थापाले दुई स्वर्ण पदक हात पार्नुभयो । यसैगरी गत वर्ष पोखरामा सम्पन्न नवौ राष्ट्रिय खेलकुद प्रतियोगितामा रोजिनाले दुई स्वर्ण जित्नुभएको थियो ।

यसैगरी बाग्लुङका आइटिएफ तेक्वान्दोका खेलाडी सुस्मिता थापामगरले विसं २०७४ देखी खेलकुदमा पाइला चाल्नुभएको हो । पहिलोपटक विसं २०७६ मा सम्पन्न आठौ राष्ट्रिय खेलकुदमा सहभागी भएर सुस्मिताले एक स्वर्ण र दुई रजत पदक हात पार्न पार्नुभयो ।

यसैगरी विसं २०७८ मा भएको पहिलो गण्डकी प्रदेश स्तरिय तेक्वान्दो प्रतियोगितामा दुई स्वर्ण पदक हात पार्दै उत्कृष्ट खेलाडीको उपाधि जित्नुभयो । पोखरामा गत वर्ष असोज अन्तिम साता भएको नवांै राष्ट्रिय खेलकुदमा एक स्वर्ण र एक रजत पदक सुस्मिताले जित्नुभयो ।

यसैगरी नेपाली राष्ट्रिय महिला फुटबल टोलीका फरवार्ड सावित्रा भण्डारी (साम्बा)ले १२ वर्षको उमेरदेखि खेल्न सुरु गर्नुभएको हो । हाल विभागीय नेपाल एपिएफ क्लबमा आवद्ध सावित्रा फुटबल भन्दा अघि एथलेटिक्स र भलिबल खेलाडी हुनुहुन्थ्यो ।

विसं २०६९ मा भएको राष्ट्रपति रनिङ शिल्ड अन्र्तगत १०० मिटर दौडमा सावित्राले पहिलोपटक स्वर्ण आफ्नो नाममा लेखाउनुभयो ।
सावित्राले विसं २०७० देखी फुटबल खेल्न सुरु गर्नुभएको हो । उहाँ सोही वर्ष राष्ट्रिय टिममा स्थान बनाउनुभयो ।सन् २०१४ मा सम्पन्न साफ च्याम्पियनसिपमा सावित्राले देशको प्रतिनिधित्व गदै पहिलो अन्तराष्ट्रिय प्रतियोगितामा सहभागी बन्नुभयोे । त्यसपछि हालसम्म उहाँले राष्ट्रिय टोलीबाट एक दर्जन अन्तराष्ट्रिय प्रतियोगिता खेल्नुभएको छ ।

पोखरा स्पोर्टस् अवार्डमा वर्ष खेलाडी पुरुष र वर्ष खेलाडी महिला हुन सफल खेलाडीले टेल्जि नेपालको टाइगर इलेक्ट्रिक स्कुटर र ट्रफी हात पार्ने छन् ।यसैगरी वर्ष उत्कृष्ट उदीयमान खेलाडी, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उत्कृष्ट खेल पत्रकार र वर्ष उत्कृष्ट खेलकुद संघसंस्था वा क्लबतर्फका विजेताले नगद रु ३५ हजारको साथमा ट्रफी पुरस्कार प्राप्त गर्ने मञ्चका अध्यक्ष दीननाथ बरालले जानकारी दिनुभयो ।

Comments
Loading...