पोखरा स्पोर्ट्स अवार्ड:वर्ष उत्कृष्ट खेलाडी अवार्ड कसले जित्ला ?

हिमाली आवाज । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गर्दैै आएको पोखरा स्पोर्टस् अवार्डको सातौं संस्करण यही वैशाख २३ गते पोखरा सभागृहमा हुँदैछ ।गण्डकी प्रदेशका खेलाडी र खेलकुदकर्मीका लागि स्पोर्टस् अवार्ड सर्वाधिक चासोका रुपमा रहने गरेको छ ।

खेलकुद क्षेत्रमा लागेका खेलाडी, प्रशिक्षक, खेलकुद संस्था र खेल पत्रकारले सयौँको उपस्थितिमा प्रतिष्ठित अवार्ड प्राप्त गर्ने भएकाले यसप्रति खेलकुदकर्मीको कौतुहलता र चासो बढी हुने गर्दछ ।

खेलाडीले राष्ट्रि«य तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा अघिल्लो वर्ष प्राप्त गरेको सफलताका आधारमा मनोनयनमा परेका खेलाडीहरु मध्ये सर्वोत्कृष्ट छनोट गरी अवार्ड प्रदान गर्दछन् । गण्डकी प्रदेशका खेलाडीले मात्र यसमा सहभागी बन्न पाउने प्रावधान छ ।

स्पोर्ट्स अवार्ड अन्तरगत वर्ष उत्कृष्ट खेलाडीमा समेत कडा प्रतिष्पर्धा हुने देखिएको छ । यो विधामा क्रिकेटका करण केसी(बागलुङ), आर्चरीका गङ्गाबहादुर कुँवर(तनहुँ) र टेनिसका प्रदीप खड्का(कास्की) मनोनयनमा पर्नुभएको छ ।

वर्ष उत्कृष्ट खेलाडीको अवार्डमा सर्वाधिक चासो रहने गर्दछ । मनोनयनमा परेका खेलाडीहरु मध्येमा खेलमा प्राप्त गरेको उपलब्धीलाई आधार मानेर मञ्चद्धारा गठन गरिएको खेलाडी छनोट समितिका आधारमा सर्वोत्कृष्ट खेलाडी छनोट गरिने मञ्चका अध्यक्ष दीननाथ बरालले बताउनुभयो ।

उहाँले भन्नुभयो,“उत्कृष्ट खेलाडी छनोटका मुख्य आधारनै खेलाडीको प्रदर्शन र उपलव्धी हो । यसैमा रहेर वर्ष उत्कृष्ट खेलाडीलाई अवार्ड प्रदान गर्नेछौँ ।”वर्ष उत्कृष्ट खेलाडीको उपाधि जित्ने खेलाडीले टेल्जि नेपालको टाइगर इलेक्ट्रिक स्कुटर र ट्रफी हात पार्नेछन् ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीका महत्वपूर्ण सदस्य करण केसी क्रिकेटका अलराउण्डर खेलाडी हुनुहुन्छ । राट्रिय टोलीबाट एक दिवसीय क्रिकेटमा बलिङ तथा फिल्डिङमा ४० खेल खेल्नु भएको छ । यस अवधिमा उहाँले तीन सय १४ रन बनाउनुभएको छ ।

करणले नेपाललाई आइसिसी विश्वकप लिग–२ मा शीर्ष तीनमा रहँदै सोझै विश्वकप छनोटमा पु¥याउनुको साथै आगामी चारवर्षसम्मलाई ओडिआई मान्यता जोगाउन सानदार प्रदर्शन गर्नुभएको थियो ।नेपालका तीव्र गतिका बलर करण केसी लिग–२ मा सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा छैटौं स्थानमा हुनुहुन्थ्यो ।

यसैगरी आर्चरीका गंगाबहादुर कुँवरले गण्डकी प्रदेशमा आयोजना भएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा तीन स्वर्ण पदक जित्न सफल हुनुभयो। उहाँले व्यक्तिगत रिकर्भ, रिकर्भ पुरुष टोली र रिकर्भ मिक्स टीममा स्वर्ण पदक जित्न सफल हुनुभएको हो । आर्चरी खेलमा गण्डकी प्रदेश टिम च्याम्पियन बनेको थियो ।

नेपालका टेनिसका पहिलो बरियताका खेलाडी हुनुहुन्छ पोखराका प्रदीप खड्का । टेनिसमै १५ वर्षको करियर पूरा गर्नुभएको प्रदीपको खेल जीवनको सुरुआत विसं २०६५ देखी अघि बढेको हो ।

नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा उहाँले तीन स्वर्ण पदक जिन्न सफल हुनुभएको थियो । ‘मेन्स सिंगल’, ‘मेन्स डबल’ र ‘टिम इभेन्ट’मा स्वर्ण पदक जित्नुभयो । यसैगरी खड्काले सिटिजन बैंक ओपन टेनिस प्रतियोगिताको पुरुष एकल र डबल्समा समेत स्वर्ण पदक हात पार्नुभएको थियो ।

पोखरा स्पोर्टस् अवार्डमा वर्ष खेलाडी पुरुष सहित वर्ष खेलाडी महिला, लाइफटाइम अचिभमेन्ट अवार्ड, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उदीयमान खेलाडी, वर्ष उत्कृष्ट खेलकुद संघसंस्था वा क्लब र वर्ष उत्कृष्ट खेल पत्रकार अवार्ड गरेर कुल सातवटा विधामा अवार्ड प्रदान गरिने मञ्चका महासचिव राजाराम पौडेलले बताउनुभयो ।

वर्ष उत्कृष्ट उदीयमान खेलाडी र वर्ष उत्कृष्ट प्रशिक्षक तर्फका विजेताले नगद रु ३५ हजारको साथमा ट्रफी पुरस्कार पाउने छन्् । ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’ बक्सिङका प्रशिक्षक विद्या प्रसाद मर्सानीलाई प्रदान गर्ने घोषणा मञ्चले गरिसकेको छ । मर्सानीलाई चाँदीको करुवा, ट्रफी, ताम्रपत्र र दोसल्ला सम्मान गरिनेछ ।

Comments
Loading...