पोखरा स्पोर्ट्स अवार्ड:ह्याण्डबललाई उत्कृष्ट संघ अवार्ड, निसिमलाई कीर्तिशेष सम्मान

हिमाली आवाज । गण्डकी प्रदेश सरकारको विशेष सहयोगमा हुने पोखरा स्पोर्टस् अवार्डको तयारी पूरा भएको छ ।
नेपाल खेलकुद पत्रकार मञ्चको आयोजनामा यही वैशाख २३ गते पोखरासभागृहमा हुने अवार्ड वितरण कार्यक्रमको आवश्यक सम्पूर्ण तयारीका काम सकिएको मञ्चले जनाएको छ ।

यसैगरी अवार्डको ट्रफी समेत सार्वजनिक गरियो। ट्रफी प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिव घनश्याम पौडेल, नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष दीननाथ बराल, पूर्व अध्यक्षद्धय विनोद लामिछाने र केशव पाठक, नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष विमला भण्डारीले ट्रफी र्साजनिक गर्नुभयो ।

मञ्चले वर्ष उत्कृष्ट खेलकुद सङ्घसंस्था वा क्लबको अवार्ड कास्की जिल्ला ह्याण्डबल सङ्घलाई प्रदान गर्ने घोषणा गरेको छ । गत वर्ष पोखरामा सम्पन्न नवौँ राष्ट्रिय खेलकुदमा ह्याण्डबल खेलतर्फ प्राप्त गरेको सफलताका आधारमा सो अवार्ड प्रदान गर्न लागिएको मञ्चका अध्यक्ष दीननाथ बरालले बताउनुभयो ।

उहाँले भन्नुभयो,“राष्ट्रिय खेलकुदमा ह्याडबलतर्फ गण्डकी प्रदेश टिम च्याम्पियन बन्यो । अधिकाँस कास्कीका खेलाडीले सो उपलव्धी प्राप्त गर्दा सङ्घको ठूलो मेहनत रहेको छ । भौतिक पूर्वाधारतर्फ समेत ह्याडबल संघ अब्बल रह्यो । सोही आधारमा अवार्ड दिने निर्णय गरेका हौँ ।”

उत्कृष्ट खेल सङ्घको अवार्ड विजेताले रु ३५ हजारको साथमा ट्रफी पुरस्कार प्राप्त गर्नेछन् ।यसैगरी नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका क्रममा दुर्घटनामा परी गत असोज ३० गते निधन हुनुभएका प्याराग्लाइडिङ खेलाडी निसिम थापाको योगदानको कदर गर्दै ‘कीर्तिशेष’ सम्मान अर्पण गरिने मञ्चले जनाएको छ ।

निसिमको राष्ट्रिय खेलकुदकमा भाग लिएकै बेला पोखराको सराङकोटमा प्याराग्लाइडिङ दुर्घटनामा निधन भएको थियो ।स्पोर्ट्स अवार्डमा कुल सात विधामा अवार्ड वितरण गरिनेछ । यसरी वितरण गरिने अवार्डको विधामा वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, लाइफ टाइम अचिभमेन्ट अवार्ड, उदियमान खेलाडी, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट खेलकुद संस्था वा क्लब र वर्ष उत्कृष्ट खेल पत्रकार विधा रहेका छन् ।
वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, वर्ष उत्कृष्ट प्रशिक्षक र वर्ष उदीयमान खेलाडीको मनोनयन सार्वजनिक गरिएको छ ।

वर्ष खेलाडी पुरुष तर्फ क्रिकेटका करण केसी, आर्चरीका गंगाबहादुर कुँवर र टेनिसका प्रदिप खड्का मनोनयनमा पर्नुभएको छ ।
वर्ष खेलाडी महिलातर्फ आर्चरीकी रोजीना थापा मगर, फुटवलकी सावित्रा भण्डारी र आइटिएफ तेक्वान्दोकी सुस्मिता थापा मगर रहनुभएको छ । वर्ष खेलाडी पुरुष र वर्ष खेलाडी महिला हुन सफल खेलाडीले टेल्जि नेपालको टाइगर इलेक्ट्रिक स्कुटर र ट्रफी पुरस्कार पाउनेछन् ।
उदीयमान खेलाडीतर्फ भलिवलका रवि केसी, फुटवलका सुमित श्रेष्ठ र क्रिकेटका सुवास भण्डारी मनोनयनमा पर्नुभएको छ ।

यसैगरी वर्ष उत्कृष्ट प्रशिक्षक तर्फ आर्चरीका किशोर कुमार गुरुङ, लनटेनिसका निरज थापा र आइटिएफ तेक्वान्दोका सुरज सुनार हुनुहुन्छ ।
वर्ष उत्कृष्ट उदीयमान खेलाडी र वर्ष उत्कृष्ट प्रशिक्षक तर्फका विजेताले नगद ३५ हजार रुपैयाँको साथमा ट्रफी पाउने छन्् ।

उत्कृष्ट तीनको मनोनयन सूचीमा परेकाहरुलाई मनोनयन ट्रफी प्रमाणपत्र प्रदान गरिने मञ्चका महासचिव राजाराम पौडेलले बताउनुभयो ।
मञ्चले ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’ बक्सिङ प्रशिक्षक विद्या प्रसाद मर्सानीलाई प्रदान गर्ने घोषणा गरिसकेको छ । स्पोर्टस् अवार्डका लागि रु ३२ लाख २५ हजार खर्च लाग्ने अनुमान मञ्चको छ । सरकारी तथा नीजि क्षेत्रबाट सहयोग रकम जुटाएर कार्यक्रम सम्पन्न गरिने मञ्चका कोषाध्यक्ष कविता घर्तिमगरले बताउनुभयो ।

Comments
Loading...