पोखरा स्पोर्ट्स अवार्ड : करण र सावित्रा वर्ष खेलाडी घोषित

हिमाली आवाज । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गरेको सातौँ संस्करणको ‘पोखरा स्पोर्ट्स अवार्ड २०७९’ मा वर्ष उत्कृष्ट खेलाडीको अवार्ड करण केसी (बागलुङ) र सावित्रा भण्डारी(लमजुङ)ले जित्नुभएको छ ।

पोखरा सभागृहमा शनिबार सम्पन्न अवार्ड समारोहमा पुरुष तर्फ क्रिकेटका केसी र महिला तर्फ फुटबलका भण्डारी वर्ष सर्वोत्कृष्ट खेलाडी घोषित हुँदै जनही एक÷एक थान टाइगर इलेक्ट्रिक स्कुटर र ट्रफी हात पार्नु भएको हो ।

वर्ष खेलाडी घोषित केसीलाई गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र भण्डारीलाई प्रतिनिधिसभा सदस्य विद्या भट्टराईले पुरस्कार प्रदान गर्नुभएको थियो ।

पुरुषतर्फ वर्ष खेलाडीका लागि केसी सहित आर्चरीका गंगाबहादुर कुँवर (तनहुँ) र टेनिसका प्रदिप खड्का (कास्की) मनोनयनमा हुनुहुन्थ्यो ।
महिलातर्फको मनोनयनमा भण्डारीले आर्चरीकी रोजिना थापा मगर(बागलुङ) र आइटिएफ तेक्वान्दोकी सुस्मिता थापा मगर(बागलुङ)लाई पछाडि पार्नु भएको हो ।

यसैगरी वर्ष उदीयमान खेलाडीको अवार्ड क्रिकेटका सुवास भण्डारी(बागलुङ)ले हात पार्नु भएको छ । भण्डारीले भलिवलमा रवि केसी(बागलुङ), फुटवलका सुमित श्रेष्ठ(कास्की)लाई मनोनयनमा पछि पार्दै ट्रफी सहित नगद रु ३५ हजार पुरस्कार पाउनुभयो ।
आर्चरीका किशोर कुमार गुरुङ(स्याङजा)ले वर्ष उत्कृष्ट प्रशिक्षकको अवार्ड जित्नु भएको छ । उत्कृष्ट प्रशिक्षकमा किशोर सहित लनटेनिसका निरज थापा(कास्की) र आइटिएफ तेक्वान्दोका सुरज सुनार मनोनयनमा पर्नुभएको थियो ।

यसैगरी वर्ष उत्कृष्ट खेल पत्रकार अवार्ड सागरराज तिमिल्सिनाले पाउनुभयो । तिमिल्सिना डेढ दशकदेखी पोखरमा पत्रकारितामा क्रियाशील हुनुहुन्छ ।
खेलकुद संघसंस्था वा क्लब अवार्ड कास्की जिल्ला ह्याण्डबल संघले पाएको छ । वर्ष उत्कृष्ट प्रशिक्षक, उदीयमान खेलाडी र वर्ष उत्कृष्ट प्रशिक्षक र उत्कृष्ट खेलकुद संघसंस्था वा क्लब तर्फका विजेताले रु ३५÷३५ हजारका साथ ट्रफीबाट पुरस्कृत हुनुभयो ।
यसैगरी वर्षको लाइफटाइम अचिभमेन्ट अवार्ड बक्सिङका प्रशिक्षक विद्या प्रसाद मर्सानीलाई प्रदान गरिएको छ । मर्सानीलाई चाँदीको करुवा, ट्रफी, ताम्रपत्र र दोसल्लाले सम्मान गरिएको हो ।

यसैगरी नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका क्रममा दुर्घटनामा परी गत असोज ३० गते निधन हुनु भएका प्याराग्लाइडिङ खेलाडी निसिम थापाको योगदानको कदर गर्दै ‘कीर्तिशेष’ सम्मान प्रदान गरिएको थियो ।

अवार्ड विजेताहरुलाई मुख्यमन्त्री पाण्डे, राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिब टङ्कलाल घिसिङ, गण्डकीका निर्वतमान मुख्यन्त्री खगराज अधिकारी लगायतले पुरस्कार प्रदान गर्नु भएको थियो ।गण्डकी प्रदेशका खेलकुद पत्रकारको साझा संस्था खेलकुद पत्रकार मञ्च विसं २०५७ मा स्थापना भएको थियो ।

खेलाडीलाई उर्जा थप्न नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले विसं २०७२ देखी हरेक वर्ष पोखरा स्पोर्ट्स अवार्ड प्रदान गर्दै आएको हो । खेलाडी र खेलकुदकर्मीको हौसला प्रदान गर्दै खेलकुद विकासका लागि अवार्डले ठूलो मद्धत गरेको मञ्चका अध्यक्ष दीननाथ बरालले बताउनुभयो ।

Comments
Loading...