पोखरामा विजुलीको तार भूमिगत गर्न सुरु

हिमाली आवाज । पोखरामा विद्युतीय तार भूमिगत गर्ने काम सुरु भएको छ । ठेक्का सम्झौता भएको १५ महिनापछि आयोजनाले गति लिएको हो । भारतीय कम्पनी टाटा प्रोजेक्ट्सले विसं २०७८ माघमा निर्माणको जिम्मा पाएको थियो ।

नेपाल विद्युत् प्राधिकरणको पोखरा–भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाका प्रमुख इञ्जिनियर आनन्द सुवेदीले पोखरा महानगरपालिका कुँडहर क्षेत्रबाट तार भूमिगत गर्न सुरु गरिएको बताउनुभयो ।

“इञ्जिनियरिङ डिजाइन र उपकरण खरिदमा समय लागेकाले भौतिकतर्फको काममा केही ढिलाइ भएको हो”,उहाँले भन्नुभयो,“गत सातादेखि काम सुरु भएको छ, अब आयोजनाले गति लिन्छ, डेढ वर्षभित्रमा काम सक्ने लक्ष्य छ ।”

आयोजनालाई आवश्यक तारसहित महत्वपूर्ण उपकरण भारतबाट ल्याइएको हो । सुरुमा कुँडहरमा रहेको प्राधिकरणको सवस्टेशन क्षेत्रको तार भूमिगत गरिनेछ । अहिले सडक खन्ने र पाइप विछ्याउने काम भइरहेको छ ।

पोखरा–मुग्लिन सडक आयोजनाले अनुमति नदिएका कारण मुख्य राजमार्ग क्षेत्रमा काम अगाडि बढाउन नसकिएको आयोजना प्रमुख सुवेदीले बताउनुभयो ।

Comments
Loading...