हिमाली आवाज । नेपाल कम्युनिष्ट पार्टी(माओवाद केन्द्र)का पोलिटव्युरो सदस्य एवं कास्की जिल्लाका इन्चार्ज राजकाजी गुरुङले कास्कीमा नयाँ ढंगले पार्टी निर्माण गरिने बताउनुभएको छ ।
पार्टीको संघीय निर्वाचन क्षेत्र समन्वय समिति क्षेत्र नं ३ को विस्तारित बैठकलाई आज सम्वोधन गर्दै उहाँले कास्कीले विशेषता अनुसारको पार्टी निर्माण गरिने बताउनुभएको हो ।
“कास्की जिल्लाको सामाजिक, सांस्कृतिक, यहाँको समाज र उत्पादन प्रणाली अनुसार यहाँको विभिन्न चरित्र र विशेषता अनुसार नयाँ ढंगले पार्टीको पुनःनिर्माण गछौँ ।”इन्चार्ज करणले भन्नुभयो ।
पार्टीले सञ्चालन गरेको दुई महिने जनतासँग पार्टी अभियान तलसम्म गएर जनताका कुरा सुन्ने र जनताका सुझाव अनुसार पार्टीलाई रुपान्तरण गर्ने गरी आयोजना गरिएको नेता करणले बताउनुभयो । कास्की जिल्लामा पोखरा महानगरपालिका सहितका अन्य स्थानीय पालिकाहरु जनताको आवश्यकता अनुसारको विकास गर्न असफल भएको बताउँदै माओवादी केन्द्रले सशक्त प्रतिपक्षीको भूमिका निर्वाह गर्ने उहाँले बताउनुभयो ।

संघीय निर्वाचन क्षेत्र समन्वय समिति क्षेत्र नं ३ का इन्चार्ज एवं पार्टी केन्द्रीय कमिटीका सदस्य रामजी प्रसाद बराल(जीवन)ले पार्टी अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड)को नेतृत्वमा सरकार गठनपछि आम जनतामा उत्साह र आशाको सञ्चार भएको बताउनुभयो ।
नेता बरालले नागरिक लाई अनागरिक बनाएर मानव तस्करी जस्तो जघन्य अपराधमा संलग्न भ्रष्टाचारी हरुलाई सरकाले क्रमशः कारवाहीको प्रकृयामा लगेपछि भ्रष्टहरु हायलकायल भएको बताउनुभयो ।
देशमा हासिल भएका सवै परिवर्तनको नेतृत्व माओवादी केन्द्रले गरेकाले विकास र समृद्धि पनि माओवादी र अध्यक्ष प्रचण्डको नेतृत्वमा अघि बढ्ने उहाँले बताउनुभयो ।
संघीय निर्वाचन क्षेत्र समन्वय समिति क्षेत्र नं ३ का संयोजक भीम बहादुर विक(क्षितिज)को अध्यक्षतामा सम्पन्न बैठकमा संघीय निर्वाचन क्षेत्र समन्वय समितिका सहइन्चार्ज एवं पार्टी केन्द्रीय सदस्य दुर्गा विक, प्रदेश निर्वाचन क्षेत्र नं ३(१) का इन्चार्ज एवं केन्द्रीय सदस्य आशमान रोका, पार्टीका कास्की जिल्ला संयोजक केशव पौडेल, प्रदेश निर्वाचन क्षेत्र नं ३(२) का इन्चार्ज दुर्गा भण्डारी, संयोजक बलराम सुवेदी, क्षेत्र नं ३(१) का संयोजक भोजराज पौडेल, माछापुच्छ्रे गाउँपालिकाका इन्चार्ज राजेन्द्र तमु, गाउँपालिका अध्यक्ष बैकुण्ठ भण्डारी, अन्नपूर्ण गाउँपालिका अध्यक्ष धर्म तमु लगायतको उपस्थिति रहेको थियो । बैठकममा सो निर्वाचन क्षेत्र अन्तर्गतका सबै वडाका वडाध्यक्षहरुले जनतासँग पार्टी अभियान र संगठन निर्माण लगायतका विषयमा रिपोर्टिङ गर्नुभएको थियो ।