महासंघका अध्यक्ष विमला भण्डारीलाई सुप्रेम शारदा पत्रकारिता पुरस्कार

हिमाली आवाज । नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष विमला भण्डारीलाई सुप्रेम शारदा पत्रकारिता पुरस्कार प्रदान गरिने भएको छ ।
नेपाल प्रेस युनियन कास्की शाखाले संचालन गरेको सो पुरस्कार पहिलो पटक भण्डारीलाई प्रदान गर्न लागिएको हो । पुरस्कार राशि ५१ हजार रुपैया नगद र सम्मानपत्र रहेको छ ।

नेपाल पत्रकार महासघं कास्कीका पूर्व अध्यक्ष रवीन्द्र बास्तोला संयोजक रहेको प्रतिभा छनौट समितिको सिफारिसमा नेपाल प्रेस युनियन कास्कीकोे वैठकले भण्डारीलाई पुरस्कृत गर्ने निर्णय भएको युनियनका कार्यवाहक अध्यक्ष रवीना आलेले जानकारी दिनुभयो ।

पोखरामा रहेर २ दशकदेखि पत्रकारितामा सक्रिय भण्डारीले विभिन्न संचार माध्यममा काम गर्नुभएको छ । भण्डारीले विशेषगरि महिला सशक्तिकरणका क्षेत्रमा आवाज उठाउदै आउनुभएको छ । भण्डारी यसअघि राष्टपतिबाट जनसेवाश्री विभूषण सहित विभिन्न पुरस्कारबाट पुरस्कृत एवम् सम्मानित भइसक्नुभएको छ ।

संविधान सभा सदस्य, नेपाली कांगे्रसका तत्कालिन आमन्त्रित सदस्य, वरिष्ठ उद्योगपति स्व सूर्यबहादुर केसीले वि.सं.२०७६ सालमा प्रेस यूनियनले संचालन गर्ने गरि आफ्नी वहिनी शारदा केसीको स्मृतिमा रु छ लाखको अक्षयकोष स्थापना गर्नुभएको थियो ।

उक्त पुरस्कार नेपाली प्रेस युनियन कास्कीको १०औं अधिवेशनको अवसरमा जेठ ७ गते मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको प्रमुख अतिथ्यतामा वितरण गरिने कावा अध्यक्ष आलेले बताउनुभयो ।

Comments
Loading...