गण्डकी प्रदेशमा उर्जा विकास सम्भावनाको खोजीका लागि कार्यशाला

हिमाली आवाज । जलविद्युत उत्पादमा गण्डकी प्रदेश देशमै पहिलो स्थानमा पर्दछ । देशमा हाल उत्पादन भएको कूल जलविद्युतको ५० प्रतिशत हिस्सा गण्डकीले ओगटेको छ ।

उर्जा विकासको प्रचुर सम्भावना रहेकाले प्रदेशको समृद्धिमा उर्जाको महत्व छ । प्रदेशको उर्जा विकासको सम्भावना र चूनौतीहरुको खोजी गर्न पोखरामा यही जेठ ११ र १२ गते कार्यशाला आयोजना गरिएको छ ।

स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था(इप्पान)को आयोजनामा गण्डकी प्रदेशको दिगो विकासका लागि उर्जा विषयमा सबै सरोकारवालाहरुलाई एकै ठाउँमा राखेर कार्यक्रम गर्न लागिएको आयोजक संस्थाका कार्यसमिति सदस्य प्रकाशचन्द्र दुलालले बताउनुभयो । उहाँका अनुसार अन्तर्राष्ट्रिय मुद्रा कोषसँगको सहकार्यमा कार्यक्रम आयोजना गरिएको हो ।

दुलालले भन्नुभयो, “गण्डकी प्रदेशमा रहेको जलस्रोत र उर्जालाई यस प्रदेशको आर्थिक वृद्धि र समृद्धिको प्रमुख स्रोतका रुपमा विकास गर्न कार्यक्रम सफल हुने विश्वास लिएका छौँ ।” कार्यशालाबाट प्रदेशमा उर्जा क्षेत्रको विकास र प्रवद्र्धन गरी प्रदेशको आर्थिक जग बलियो बनाउन सहयोगी हुने विश्वास आयोजकको छ ।

कार्यशालामा गण्डकी प्रदेशका मुख्यमन्त्री तथा मन्त्रीहरु, प्रदेशसभाका सदस्यहरु, स्थानीय तहका प्रमुखहरु, जलविद्युत क्षेत्रका प्रवद्र्धक तथा सञ्चारकर्मीहरु गरी एक सय जनाको सहभागिता रहने बताइन्छ । कार्यशालामा विभिन्न विषयमा विषय विज्ञहरुबाट कार्यपत्र प्रस्तुत गरी छलफल हुनेछ ।

Comments
Loading...