गण्डकीमा पशुमा पूर्ण खोपसँगै‘सेरो मनिटरिङ’

हिमाली आवाज । गण्डकी प्रदेशमा पशुमा पूर्ण खोप कार्यक्रम सञ्चालन भइरहेको छ ।

रोगको कारण हुने पशुजन्य उत्पादनको गिरावटलाई कम गरी खोपका माध्यमबाट पशुधनको सुरक्षा तथा उत्पादन वृद्धिका लागि गण्डकी प्रदेश सरकारले पशुमा पूर्ण खोप कार्यक्रम चलाएको हो ।

प्रदेशको कृृषि मन्त्रालय अन्तर्गत पशुपन्क्षी विकास निर्देशनालय मातहतका जिल्लास्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रहरुले स्थानीयतहहरुसँगको सहकार्यमा पालिकाहरुमा पुगेर पशुमा खोप कार्यक्रम चलाएका हुन् ।

पशुमा खोपसँगै खोपको प्रभावकारिता मुल्याङ्कन(सेरो मनिटरिङ) सुरु भएको छ । खोपको प्रभावकारिता मुल्याङ्कन पशुपन्क्षी रोग अन्वेषण प्रयोगशाला पोखरा र निर्देशनालयले पूर्ण खोप कार्यक्रम सञ्चालन भएका जिल्लाहरुमा पुगेर नमूना गरिरहेको हो ।

पशुपन्क्षी विकास निर्देशनालय र पशुरोग अन्वेषण प्रयोगशालाबाट खटिएका प्राविधिकहरुले खोपको प्रभावकारिता परीक्षणका लागि खोप लगाइएका पशुको रगत सङ्कलन गरी प्रयोगशालामा परीक्षण गरेको निर्देशनालयका अधिकृत सुरेशकुमार श्रेष्ठले बताउनुभयो ।

खोपकर्ताहरुबाट कृषकको फार्म तथा गोठहरुमा पूर्ण खोप कार्यक्रम कार्यान्वयनसँगै सेरो मनिटरिङको काम समेत अहिले सञ्चालन भइरहेको उहाँले जानकारी दिनुभयो । प्रयोगशालाबाट एक हप्तामा नमूना परीक्षणको नतिजा प्राप्त हुने बताइन्छ ।

उहाँले भन्नुभयो,“ खोप लगाएका गाईभैँसीमा खोपले काम गरेको किन गरेन भनेर रगत सङ्कलन गरेर प्रयोगशालामा परीक्षण गछौँ । पशुमा खोप लगाएको २१ दिनपछि नमूना लिन सुरु हुन्छ, खोपले पशुको शरिरमा विकास गरेको प्रतिरोधात्मक क्षमताबारे जानकारी हुन्छ ।” परीक्षणपछि पशुमा प्रतिरोधात्मक क्षमता विकास नभएमा पुनः खोप दिनुपर्ने हुन्छ ।

गण्डकी प्रदेश सरकारले पशुहरुमा सङ्क्रामक रोग उन्मुलन गरी गुणस्तरीय पशुजन्य उत्पादन सुनिश्चित गर्ने उद्धेश्यले तीन वर्षभित्रमा प्रदेशका ८५ वटै पालिकामा पूर्ण खोप कार्यक्रम कार्यान्वयनको योजना दुई वर्षअघि सुरु गरेको थियो ।

खोप कार्यक्रममा भैँसीलाई खोरेत र एचएसविक्यू, भेडाबाख्रामा पिपिआर र खोरेत, बङ्गुरलाई हैजा र कुकुरलाई रेविज विरुद्धको खोप दिने गरिएको छ ।

पशु बाट मान्छे र मान्छेबाट पशुमा सर्ने जुनोटिक रोगलाई नियन्त्रण गरी जनस्वास्थ्यलाई पार्ने नकारात्मक प्रभावबाट बचाउन खोप कार्यक्रम प्रभावकारी बनेको भेटेरिनरी अस्पताल कास्कीका अधिकृत पुष्पराज बास्तोलाले बताउनुभयो।

Comments
Loading...