गर्मी अझै बढ्ने,पाँच दिनसम्म तातो हावा तथा लूको सम्भावना,सचेत रहन आग्रह

हिमाली आवाज । मौसम पूर्वानुमान महाशाखाले आगामी केही दिनसम्मको देशभरिको तापक्रमको अवस्था तथा विश्लेषण अनुसार तराईका धेरैजसो भू–भागहरूमा अधिकतम र न्यूनतम तापक्रम क्रमिक रूपमा बढ्ने जनाएको छ ।

हालको तल्लो र उपल्लो वायुमण्डलको अध्ययन र विश्लेषण अनुसार नेपालमा यस वर्षको मनसुनको आगमन हुन अझै केही दिन लाग्ने देखिएको महाशाखाको भनाई छ ।

विगत केही दिनदेखि देशका अधिकांश भू–भागहरूको अधिकतम तथा न्यूनतम तापक्रम वृद्धि भइरहेको देखिन्छ । काठमाडौँ उपत्यका लगायत देशका अन्य उपत्यकाहरूमा समेत तापक्रममा क्रमिक वृद्धि भइरहेको र देशको तराई भू–भागमा अधिकतम तापक्रम चालीस डिग्री सेल्सियस (४०ड्ढसे) वा सोभन्दा बढी मापन भएको छ ।

देशका तराई भू–भागहरूमा आगामी पाँच दिनसम्म तातो हावा तथा लूको सम्भावना यथावत् रहने देखिएकोले सोबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । साथै पहाडी भू–भागका उपत्यका तथा खोँचहरूमा समेत तापक्रम क्रमिक रूपमा बढ्न सक्ने सम्भावना रहेकोले यस महाशाखाबाट जारी हुने सूचना तथा पूर्वानुमानमा अद्यावधिक रहन महाशाखाको अनुरोध छ।

Comments
Loading...