कास्कीमा माओवादी केन्द्रको स्कुलिङ कार्यक्रम सुरु

हिमाली आवाज । नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र) कास्कीले पार्टी स्कुल कार्यक्रम अन्तर्गत जिल्लामा तीन दिनको मध्यमस्तरको स्कुलिङ सुरु गरेको छ ।लेकसाइडस्थित एक होटलमा सुरु स्कुलिङ आगामी जेठ २७ गतेसम्म सञ्चालन हुनेछ ।

पार्टीका सबै तहका नेता कार्यकर्ताहरुमा पठनीय संस्कृतिलाई बढावा दिन स्कुलिङ सुरु गरिएको जिल्ला इन्चार्ज राजकाजी गुरुङ(करण)ले बताउनुभयो । उहाँका अनुसार सही दृष्टिकोणले मात्रै सही निकास दिने भएकाले वैचारिक प्रष्टताका लागि कार्यक्रम गरिएको छ ।

स्कुलिङको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि नेकपा(माओवादी केन्द्र)का स्थायी कमिटीका सदस्य यशोदा सुवेदी(गुरुङ)ले पार्टीका नेता तथा कार्यकर्ताहरुको वैचारिक र राजनीतिक क्षमता विकासका लागि स्कुलिङ महत्वपूर्ण भएको बताउनुभयो । उहाँले पार्टीले हाल देशभर विभिन्न तहमा स्कुलिङलाई प्राथमिकता दिएर सञ्चालन गरेको बताउनुभयो ।

नेकपा(माओवादी केन्द्र) गण्डकी प्रदेशका अध्यक्ष गायत्री गुरुङले गण्डकी प्रदेशभर स्कुलिङ सञ्चालन गरिने बताउनुभयो । अध्यक्ष गुरुङले पार्टीको विशुद्ध विचार धारा, दर्शन, सिद्धान्तका बारेमा कार्यकर्तालाई प्रशिक्षित गर्न कार्यक्रम सफल हुने विश्वास व्यक्त गर्नुभयो ।

पार्टीका कास्की जिल्ला ंसंयोजक केशव पौडेलको अध्यक्षतामा भएको उद्घाटन समारोहमा पार्टी केन्द्रीय अनुशासन आयोगका अध्यक्ष कोमलनाथ बराल, पार्टीका जिल्ला नेता विनय थापा लगायतले सही स्कुलिङबाट मात्र नेता कार्यकर्ताका वैचारिक विकास हुने बताउनुभएको थियो ।

पार्टीका कास्कीस्थित केन्द्रीय सदस्यहरु, केन्द्रीय आयोगका सदस्य, जनवर्गीय संगठनका केन्द्रीय सदस्य,युवा, विद्यार्थी र महिला संगठनका अध्यक्ष तथा जवस मोर्चाका अध्यक्षहरुको स्कुलिङ कार्यक्रममा सहभागिता छ ।

पहिलो दिन संविधान र कानुनका विषयमा खिमलाल देवकोटा, संगठनका बारेमा मेखबहादुर भण्डारी, व्यवस्थापकीय र योजना निर्माणमा प्राडा केशरजंग बराल, महिला आन्दोलनमा यशोदा सुवेदी र सूचना प्रविधिका विषमा पत्रकार सुनिल पाण्डेले प्रशिक्षण दिनुभएको थियो ।

Comments
Loading...