कुष्ठरोगीको उपचारका लागि पोखराको हरियोखर्क अस्पतालमा ‘आइलिन एण्ड बेट्टी’ सेन्टर

हिमाली आवाज । इन्टरनेशनल नेपाल फेलोशिप(आइएनएफ)ले पोखराको नयाँगाउँस्थित हरियोखर्क अस्पतालमा आइलिन एण्ड बेट्टी सेन्टर भवनको स्थापना गरेको छ ।कुष्ठरोगका बिरामीहरुको उपचारमा थप सहजताका लागि हरियोखर्क अस्पतालले सो भवन निर्माण गरी शुक्रबारदेखी औपचारिक सञ्चालनमा ल्याएको हो ।

विसं २०१४ मा कुुष्ठप्रभावितहरुको स्वास्थ्य समस्या तथा उपचार केन्द्रका लािग नयाँगाउँमा हरियोखर्क अस्पताल निर्माण गर्ने तत्कालीन अग्रज बेलायती नागरिक आइलिन लज र बेट्टी बेलीको स्मरणमा निर्माण गरिएको सो भवनमा ३० शैया छन् ।

यससँगै अस्पतालमा १०० श्ययामा कुष्ठरोगका बिरामीहरुको उपचार हुने बताइन्छ । हरियोखर्क अस्पतालमा छाला तथा कुष्ठरोग, मेरुदण्ड पक्षघात, कानसम्बन्धी रोगहरुको निदान , हाडजोर्नी, शारीरिक पुनःस्थापना, प्रशामक सेवा लगायतका उपचार सेवाहरु प्रदान गर्दै आएको छ ।
आइलिन एण्ड बेट्टी सेन्टर भवन रु दुई करोड ७४ लाख ४९ हजार ७०४ लागतमा निर्माण गरिएको आइएनएफका स्वास्थ्य सेवा निर्देशक डा अरुणकुमार बुढाले बताउनुभयो ।

उहाँकाका अनुसार भवनमा नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको रु एक करोड ५० लाख, आइएनएफ युकेको रु एक करोड एक लाख १२ हजार र आइएनएफ क्यानाडको रु २३ लाख ३७ हजार ७०४ लगानी भएको छ ।सुविधासम्पन्न नयाँ भवन निर्माण र श्यया वृद्धिभएसँगै बिरामीको उपचारमा सुविधा पुग्ने अस्पतालले जनाएको छ ।

आइएनएफले विसं २००९ देखी नेपालका गरिब तथा सुविधाबाट बञ्चित नागरिकहरुको जीवनमा सहजता ल्याउने उद्धेश्यले विपन्न र विकट समुदायमा स्वास्थ्य तथा विकासका विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।आइएनएफले पोखरा, बाँके र सुर्खेतमा अवस्थित आफ्ना तीन अस्पतालहरुमा विभिन्न उपचार सेवा प्रदान गर्दै आएको छ ।

हाल हरियोखर्क अस्पताल कुष्ठरोगको उपचारका लागि पर्यायबाची बनेको छ । हरियोखर्क अस्पताललाई अपांगतामा आधारित ५०० श्ययाको विशिष्ट अस्पालको रुपमा विकास गर्दै लैजाने भावी कार्यक्रम रहेको बताइन्छ ।

Comments
Loading...