पोखरामा ‘सेभ सेती क्याम्पेन’,नदीको बैज्ञानिक सिमाङ्कन गर्न महानगरसँग माग

हिमाली आवाज । माछापुच्छ्रे र अन्नपूर्ण हिमालको काखबाट उत्पत्ति भएर पोखराको मध्य भाग भएर बग्ने सेती नदीको बैज्ञानिक सिमाङ्कनको माग गरिएको छ ।

नदीको सिमाङ्कन नहुँदा नदी दोहन बढेको भन्दै सेती नदी संरक्षण अभियानले स्थानीय सरकारको ध्यानाकर्षण गराएको हो । सेती नदीको संरक्षणको काम गर्ने उद्धेश्य सहित हालै जिल्ला प्रशासन कार्यालय कास्कीमा सेती नदी संरक्षण अभियान नामको सामाजिक संस्था दर्ता गरिएको छ ।

सेतीमा बर्षौदेखि हुँदै आएको ढुङ्गा, बालुवा, गिटीको दोहन र नदी किनारामा बढदै गईरहेको मानव वस्तीका कारण नदीको प्राकृतिक वहावमा परिवर्तन हुदै हुँदा ठूलो भौतिक संरचनामा क्षति पुगेको छ । कति क्षेत्रभित्र उत्खनन् गर्ने भन्ने निश्चित नभएकाले जथाभावी र मनपरी तरिकाले दोहन बढेपछि नदीको सिमाङ्कन माग गरिएको होे ।

नदी गहिरिदै गएको र नदीको बहावको तिब्रता बढेको कारण बर्षातमा आसपासका नीजि र सार्वजनिक जमिनको क्षयिकरण हुँदा करोडौको लागतमा बनेका पुलहरु, अन्तिम संस्कार गरिने घाटहरु समेत क्षतिग्रस्त भएको सेती नदी संरक्षण अभियानका अध्यक्ष हेमराज पौडेलले बताउनुभयो ।

उहाँले भन्नुभयो,“धार्मिक आस्थाका स्थानहरु समेत जोखिममा रहेको र बढदो मानव क्रियायाकलापका कारण नदीको जल ढलमा परिणत भइरहेको छ । यस्तो दुर्दसा न्यूनीकरणको उद्धेश्यले सेती आसपासमा बसोबास गर्ने जनसमुदायको अगुवाईमा सेती नदी संरक्षण अभियान सामाजिक संस्था दर्ता गरेका छौँ ।”

संस्थाले मुलतः सेती नदीको बैज्ञानिक सिमाङ्कन, नदीलाई प्राकृतिक अवस्थामा बग्न दिई थप क्षति हुन नदिन संरक्षणमूखी ठोस कार्य गर्न ल्याउन तीनै तहका सरकारसँग माग समेत गरेको छ ।

नदीमा भईरहेको फोहरको ब्यबस्थापन गर्न जनचेतना लगायतका समुदायस्तरबाट सरसफाई कार्यको संयोजन, सांस्कृतिक, धार्मिक आस्थाका स्थलहरुको संरक्षण तथा नदीलाई सौन्दर्यकरण गर्न सरोकारबालाहरुलाई उत्प्रेरित गर्ने खालका कार्यक्रम सञ्चालन गरिने अभियानले जनाएको छ ।

सेती नदी संरक्षण अभियानका पदाधिकारीहरुले नदी संरक्षणका कार्यक्रम ल्याउन सोमबार पोखरा महानगर प्रमुख धनराज आचार्य समक्ष माग गरेका छन् । प्रमुख आचार्यलाई महानगरमा भेट गरी उनीहरुले संरक्षणका लागि आग्रह गरेका हुन् ।

महानगरको आगामी बर्षको बजेट तथा कार्यक्रममा सेती सिमाङ्कन सेती नदीको प्राकृतिक वहावलाई कायम गर्न बिना बिलम्व चाल्नु पर्ने कदमहरु, नदी सरसफाई र स्वच्छता कायम गर्ने गरी कार्यक्रम सञ्चालन गर्न माग गरेका हुन् । महानगरले नदीको सौन्दर्यकरण र पर्यटन प्रवद्र्धन गर्न सकिने सम्भावनाको खोजी गर्नुपर्नेमा जोड दिइएको छ ।

“संरक्षणका ठोस कामहरु नगरी भविष्यमा कुनै पनि हालतमा दोहनरुपी उत्खनन् गर्ने काम दोहोरिने छैन भन्ने अपेक्षा महानगरसँग गरेका छौँ ।” अध्यक्ष पौडेलले भन्नुभयो,“ महानगरले चाल्ने संरक्षणका ठोस तथा सकारात्मक क्रियाकलापहरुमा अभियानको साथ र सहयोग रहने प्रतिवद्धता महानगर समक्ष गरेका छौँ ।”

Comments
Loading...