हिमाली आवाज । पोखरामा आगामी साता आयोजना हुने नेपाल—चीन फ्रेण्डसीप ‘ड्रागन बोट रेस फेस्टिभल’को तयारी अन्तिम चरणमा पुगेको छ ।
नेपाल र छिमेकी मित्रराष्ट्र चीनबीचको सांस्कृतिक तथा जनस्तरसम्मको सम्बन्ध सुमधुर बनाउने र पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले यही असार ८ र ९ गते सो फेस्टिभल आयोजना गरिएको पोखरामा आज पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
यस प्रकारको फेस्टिभल दक्षिण एशियामै पहिलोपटक हुन लागेको आयोजकले जनाएको छ । कार्यक्रमबाट पर्यटकीय शहर पोखरामा र समग्र देशमा चीनियाँ पर्यटक आगमन वृद्धि हुने विश्वास लिइएको छ ।
नेपाल पर्यटन बोर्ड, नेपाल स्थित चिनियाँ दूतावास र पोखरा महानगरपालिकाको आयोजनामा फेवातालमा बोट रेस र फेवाताल किनार क्याम्पिङ चोकमा फेस्टिभल सञ्चालन हुने बोर्डका प्रमुख कार्यकारी अधिकृत धनन्जय रेग्मीले बताउनुभयो ।
कार्यक्रममा सहभागिताका लागि चीनको लिङ्जी नगरबाट उपप्रमुखको नेतृत्वमा ६० जनाको टोली चार्टर उडानबाट सिधै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिने बताइन्छ ।
पोखरा पर्यटन परिषद् र चाइनिज ओभरसिज एशोसियसन पोखरा सो फेस्टिभलको सहयोगी संस्थाका रुपमा रहेका छन् । बोट रेस कार्यक्रमका सम्बन्धमा गत वैशाख २१ गते पर्यटन बोर्ड, चिनियाँ दुतावास र पोखरा महानगरबीच सझदारी हस्ताक्षर भएको थियो ।

बोर्डका प्रमुख कार्यकारी अधिकृत रेग्मीले चीन सरकार र दुताबासको आयोजनामा फेस्टिभल हुनु पोखराका लागि शुभसमाचार रहेको बताउनुभयो । उहाँले फेवातालमा हुने बोट रेसका लागि आवश्यक पर्ने सबै सुरक्षा प्रवन्ध अपनाइने बताउनुभयो ।
चीनले यस प्रकारको बोट फेस्टिभल विभिन्न ५० भन्दा बढी देश तथा क्षेत्रहरुमा आयोजना गर्दै आएको नेपालका लागि चिनियाँ दुतावासका डेपुटी चिफ अफ मिसन (डिसिएम) वाङ सिनले बताउनुभयो ।उहाँले फेस्टिभलले नेपाल र चीनका जनताबीचको सम्बन्धलाई थप प्रगाढ बताउने विश्वास व्यक्त गर्नुभयो ।
रेसका लागि चीनको केरुङ नाका हुँदै आठ वटा विशेष खालका डुङ्गा, अन्य आवश्यक सामग्री र वोट रेस प्रशिक्षकहरु जेठ अन्तिम साता पोखरा आएर अभ्यास जारी रहेको बताइन्छ ।
प्रतियोगितामा देशका सातै प्रदेशबाट र चीनबाट गरी १२० जना प्रतियोगिहरु सहभागी हुनेछन् । दुइसय र पाँचसय मिटरमा दुई भागमा आठवटा बोट मार्फट रेस हुनेछ । विजेताले रु ३० लाख पुरस्कार पाउने आयोजकले जनाएको छ ।
पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले कार्यक्रमबाट पोखरा र समग्र गण्डकी प्रदेशको प्रवद्र्धनमा महत्वपूर्ण हुने बताउनुभयो । उहाँले भन्नुभयो,“दक्षिण एशियामा पहिलो पटक आयोजना गरिएको बोट रेस फेस्टिभलले नेपालको विश्वभर प्रवद्र्धन हुनेछ । यसबाट भविश्यमा अझै बढी चिनियाँ पाहुना ल्याउन सहयोग पुग्दछ ।”
फेस्टिभलका अवसरमा नेपाली र चिनियाँ खाना प्रदर्शनी र चिनियाँ सांस्कृतिक कार्यक्रम आकर्षण रहेको छ । महोत्सवको अवसरमा पोखरा विमानस्थलमा पहिलो पटक हुने अन्तर्राष्ट्रिय उडानले पर्यटन क्षेत्र उत्साहित भएको अध्यक्ष श्रेष्ठले बताउनुभयो ।
कार्यक्रममा पोखरा महानगरपालिकाका प्रवक्ता मोतिराज तिमिल्सिनाले कार्यक्रमका लागि महानगरले सहयोग गरेको बताउनुभयो ।