हिमाली आवाज । नेपाल टेलिकम प्रादेशिक कार्यालय पोखराका निर्देशक इन्दल यादवले टेलिकमले आम्दानीभन्दा पनि संचारमार्फत् देशलाई जोड्ने काम गरिरहेको बताउनुभएको छ ।
नेपाल टेलिकमले सेवाको गुणस्तर वृद्धिलाई पहिलो प्राथमिकतामा राखेको बताउँदै पछिल्लो समयमा जनतालाई सजिलो हुने गरी विभिन्न खाले सुविधाहरु थपिएको पनि यादबले बताउनुभयो । उहाँले भन्नुभयो,‘पोखरामा टेलिकमले फाइभजी सेवाको परीक्षण गरिरहेको छ, काठमाडौंपछि सेवा विस्तारको लागि पोखरालाई प्राथमिकतामा राखिएको छ ।’ अहिले पोखराको महेन्द्रपुल क्षेत्रमा फाइभजी सेवा परीक्षणमा रहेको बताइन्छ ।
नेपाल टेलिकमले प्रदान गर्ने सेवाबारे जानकारी दिन प्रादेशिक कार्यालय पोखराको आयोजना गरेको अन्तरक्रियामा टेलिकमले सो जानकारी दिनुभएको हो ।
टेलिकमले गुणस्तरीय सेवाका सम्पादन गरेका विभिन्न गतिविधिबारे जानकारी दिँदै यादबले सोचेजस्तो गतिमा काम नभएको स्वीकार गर्नुभयो । ‘काम गर्न अप्ठेरो छ, हाम्रोमा निर्णय प्रक्रिया नै ढिला छ,अर्कोतर्फ गुणस्तर सुधारको काम गर्दै जाँदा आइपर्ने सानो अवरोधले पनि हामी पीडित छौं,’उहाँले भन्नुभयो,‘कतै फाइबर बिच्छ्याउने काम ग¥यो, समन्वय हुँदैन,एउटा पोल गाड्न खोज्यो,अवरोध हुन्छ, पृथ्वी राजमार्ग स्तरोन्नति भइरहेको छ, दिनदिनै तार चुँडिन्छ,सेवाग्राहीले हामीलाई कराउँछन् तर अन्य निकायले त्यो कुरा बुझ्दैनन् ।
निर्देशक यादवले गण्डकीका २५ लाख १ हजार ८४२ जनाले टेलिकमको सेवा लिएको जानकारी दिए । गण्डकीमा पोष्टपेड मोवाइल चलाउने ७० हजार र प्रिपेड मोवाइल चलाउने २३ लाख ९२ हजार ५०४ जना रहेको पनि बताउनुभयो।

नेपाल टेलिकम क्षेत्रीय कार्यालय पोखराका व्यापार प्रमुख महेन्द्र रिमालले नेपाल टेलिकमको सहरदेखि गाउँसम्म पुगेको बताउनुभयो । उहाँले टेलिकमको सेवा सस्तो र भरपर्दो भएको पनि बताउनुभयो ।
पछिल्लो समय नेपाल टेलिकमले प्रदान गरेको फाइबर टु होम – एफआइटीएच) बाट इन्टरनेट, टेलिभिजन र फोन सुविधा,अन्तर्राष्ट्रिय रोमिङ,कर्पोरेट युजर ग्रुप (सीयूजी)नमस्ते वाइफाइ,डेडिकेटेट लिज सर्भिस,नोटिस बोर्ड,टोल फ्रि नम्बरजस्ता सेवाबारे रिमालले जानकारी दिनुभयो ।
पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवनकुमार प्रजापतिले नेपाल टेलिकमले गुणस्तर र सेवामा आफूलाई अब्बल प्रमाणित गर्नुपर्ने बताउनुभयो ।
‘सरकारी सेवा गुणस्तरी हुँदैन भन्ने भ्रम चिर्नुपर्ने यहाँहरुको दायित्व हो,’उहाँले भन्नुभयो,‘राज्यप्रतिको दायित्व टेलिकमले भुल्नुहुँदैन, अन्य कम्पनीसँगको प्रतिस्पर्धामा खरो उत्रनुपर्छ ।
कार्यक्रममा बोल्दै पोखरा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष गोकर्ण कार्कीले नेपाल टेलिकमलाई सामाजिक उत्तरदायित्व र राष्ट्रप्रतिको जिम्मेवारी नभुल्न आग्रह गर्नुभयो ।
नेपाल टेलिकमकी सहायक व्यापार अधिकृत कविता श्रेष्ठको संचालन रहेको कार्यक्रममा पोखरा कार्यालय प्रमुख बसन्त माझीलगायतले पनि टेलिकमको विभिन्न सेवाबारे जानकारी गराउनुभयो ।