हिमाली आवाज । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पोखरेलीको चार दशक अघिको सपना थियो । विसं २०७४ विमानस्थल निर्माण सुरु भएर गत पुस १७ गते अङ्ग्रेजी नयाँवर्षका अवसर पारेर भव्य समारोहबीच उद्घाटन गरियो ।
सो विमानस्थलमा पहिलो उडान अन्तर्राष्ट्रियनै होस् भन्ने चाहना पोखरेलीको थियो तर त्यो पूरा भएन । आन्तरिक उडानबाट विमानस्थल सुरु गरियो ।
पोखराका पर्यटन व्यवसायी तथा आम पोखरेलीले मनमा अन्तर्राष्ट्रिय उडान कहिले हुन्छ भन्ने कौतुहलता आज पूरा भएको छ । विमानस्थलमा अन्तराष्ट्रिय उडान भएपनि यसको निरन्तरतामा भने अझै समय पर्खिनुपर्ने अवस्था छ । विमानस्थलको उद्घाटनमा जस्तै उत्साह अन्तर्राष्ट्रिय उडान हुँद पनि देखियो ।
चीनको सिचुआन एयरलाइन्सको १३१ सिट क्षमताको एयरबसले छेङदु—पोखरा चार्टर उडान भरेको हो । विमान विहान ९ बजेर छ मिनेट जाँदा पोखरामा अवतरण गरेको थियो । विमानमा ८४ यात्रु थिए । पहिलो अन्तर्राष्ट्रिय उडानको स्वागतमा पोखरेली बाजागाजा सहित विमानस्थल पुगेका थिए । चार्टर उडान भएपनि अन्तर्राष्ट्रि भएकाले सबैमा उत्साह छाएको थियो ।
विमानका यात्रुहरुलाई पर्यटन व्यवसायीले माला र खादाले स्वागत गरे । नेपाली ढाका टोपी लगाईदिएर न्यानो आतिथ्यता दर्शाए । पहिलो अन्तर्राष्ट्रिय उडानसँगै पोखराबाट नियमित उडान हुनेमा आशा बढाएको छ । पर्यटन व्यवसायीहरुले ढिलै भएपनि चार्टर उडान हुुनुलाई खुशीको क्षण भन्दै यहाँबाट छिमेकी देशहरुमा नियमित अन्तर्राष्ट्रिय उडानको ढोका खुल्ने विश्वास व्यक्त गरेका छन् ।
पोखरा विमानस्थलमा अवतरण गरेको चार्टर विमानले यही असार ८ र ९ गते हुने लेकसाइडमा हुने नेपाल–चीन फ्रेन्डसिप ड्रागन बोट रेस फेस्टिभलमा सहभागी हुने पाहुना तथा खेलाडीलाई लिएर आएको हो ।
नेपाल र मित्रराष्ट्र चीनबीचको सांस्कृतिक तथा जनस्तरसम्मको सम्बन्ध सुमधुर बनाउने र पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले नेपाल पर्यटन बोर्ड, चिनिया दूतावास र पोखरा महानगरले फेस्टिभल आयोजना गरेका हुन् ।
पोखरा विमानस्थलमा छिमेकी मुलुक चीनबाट पहिलो उडान भएपनि नियमित उडानको भने अझै टुङ्गो छैन । यहाँका पर्यटन व्यवसायी लगायत उद्योगी व्यवसायीहरुले नियमित रुपमा अन्तर्राष्ट्रिय उडानको माग गर्दै आएका छन् । पोखरा विमानस्थलबाट विभिन्न हवाई कम्पनीहरुले दैनिक रुपमा आन्तरिक उडान गर्दै आएका छन् ।
पोखरा पर्यटन परिषद्का उपाध्यक्ष कृष्ण भण्डारीले चार्टर उडानले व्यवसायी उत्साहित भएको बताउनुभयो । ढिलै भएपनि अन्तर्राष्ट्रिय उडान हुनु पोखरा र समग्र गण्डकीका लागि खुशीको खबर भएको उहाँले बताउनुभयो । भण्डारीले, भन्नुभयो,“सुरुआतमा चार्टर उडान सञ्चालन भएपनि हामी उत्साहित छौँ । यसबाट नियमित उडान गर्न ढोका खुलेको छ । पोखरामा अन्तर्राष्ट्रिय उडान भयो भन्ने सन्देश सबैतिर गएको छ । यसले अन्तर्राष्ट्रिय हवाई कम्पनीहरुलाई समेत ध्यानआकृष्ट गर्नेछ , नियमित उडानको ढोका खुल्ने विश्वासमा हामी छौँ ।”
नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत धनन्जय रेग्मीले पोखरा विमानस्थल सञ्चालनको लामो समयसम्म अन्तर्राष्ट्रिय उडान नहुँदा पर्यटन बोर्ड तथा पर्यटन मन्त्रालय दवावमा परेको बताउनुभयो । उहाँले अन्तर्राष्ट्रिय चार्टर उडानले आगामी दिनमा अन्तर्राष्ट्रिय उडान नियमित गर्न बल पुग्ने बताउनुभयो । रेग्मीले भन्नुभयो,“यहाँबाट नियमित रुपमा भारत तथा चीनका विभिन्न शहरमा उडानका लागि आजको उडानले सहयोग पुग्नेछ ।”