हिमाली आवाज । कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिकाले पालिकाभित्र दाना चोक्कर उत्पादन केन्द्र स्थापना गर्ने भएको छ ।
पशुपालनमा देशकै नमूना पालिकामा रुपमा विकास हुँदै गएको माछापुच्छ्रेले कृषकलाई सहजताका लागि दाना पायक पर्ने स्थानमा उद्योग स्थापना गरी सञ्चालनमा ल्याउने जनाएको छ ।
गाउँपालिकाले बिहीबार ल्याएको आगामी आर्थिक वर्षका नीति तथा कार्यक्रममा दुग्धजन्य पदार्थको बजारीकरणका लागि साझेदारीमा गाउाँलिकाको पायक पर्ने स्थानमा दुग्ध प्रशोधन तथा दाना चोक्कर उत्पादन केन्द्रको स्थापना तथा सञ्चालन गरिने उल्लेख छ । गाउँसभामा गाउँपालिका अध्यक्ष मीनबहादुर गुरुङले आगामी वर्षका नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो ।
गाउँपालिकाले कृषि, पशुपन्क्षी, पर्यटन, सहकारी, उद्योग तथा पूर्वाधार लगायतका क्षेत्रलाई नीति तथा कार्यक्रममा प्राथमिकतामा राखेको उपाध्यक्ष सीता अधिकारीले बताउनुभयो ।

उहाँले भन्नुभयो,“ पर्यटन, कृषि, उर्जा र गुणस्तरीय पूर्वाधार,समुन्नत माछापुच्छ्रे निर्माणको मूल आधारको मान्यतालाई पूरा गर्ने गरी आगामी वर्षको नीति तथा कार्यक्रम ल्याएका छौँ । यसले समृद्ध माछापुच्छ्रे र सुशी माछापुच्छ्रेवासीको हाम्रो चाहनालाई पूरा गर्ने विश्वास लिएका छौँ ।”
त्यसैगरी पालिकाले पर्यटन क्षेत्रको विकासलाई समेत कार्यक्रममा प्राथमिकता दिएको छ । माछापुच्छ्रेको प्रमुख आधारको रुपमा रहेको पर्यटन क्षेत्रलाई पहिचान, विकास र विस्तारका लागि पालिकाभित्रका पर्यटकीय क्षेत्रमा संघ र प्रदेश सरकारसँगको समन्वयमा आवश्यक पूर्वाधार निर्माण गरिने नीति कार्यक्रममा उल्लेख छ ।
त्यसैगरी पर्यटकहरुलाई थप सुरक्षा र सेवा दिइने उल्लेख छ । पर्यटकको सेवा र सुरक्षाका लागि पर्यटन सूचना केन्द्रको स्थापना गरिने गाउँपालिका अध्यक्ष गुरुङले बताउनुभयो । पालिकाले पर्यटकीय क्षेत्रहरुमा पर्यटन शुल्क लिने जनाएको छ ।
आगामी वर्षको नीति कार्यक्रममा माछापुच्छ्रेले भूमि बैँक स्थापना तथा सञ्चालन, कृषि सहकारिहरुलाई अनिबार्य बाझो जमिनमा खेति गर्न लगाउने, पाइलोटिङ प्रोजेक्ट अन्तर्गत सामन दुवानी मोनोरेल सञ्चालन, बैँक तथा बित्तिय सस्थाहरुको निश्चित हिस्सा सामाजिक उत्तरदायित्वमा खर्च गर्नुपर्ने , औधोगिक ग्राम स्थापना तथा सन्चालन लगायतका कार्यक्रम समावेश गरेको छ ।