संस्कृतिकर्मी उलकद्वारा विद्यार्थीलाई सहयोग

हिमाली आवाज । संस्कृतिकर्मी एवं सामाजिक अभियान्ता सुनिल उलकले विद्यार्थीहरुलाई आर्थिक सहयोग गर्नुभएको छ । पोखरा महानगरपालिका वडा नं. ५ स्थित बाराही माविमा अध्ययनरत तीन विद्यार्थीलाई उहाँले जनही पाँच हजार रुपैयाँका दरले आर्थिक सहयोग गर्नुभयो ।

जेहेन्दार विद्यार्थी स्वरुप सहयोग प्राप्त गर्ने विद्यार्थीमा कक्षा ९ की स्नेहा गुरुङ, कक्षा १० का अभिषेक चौधरी र शिशिर अधिकारी रहेका छन् ।
सो अवसरमा उलकले आफूले विगतमा पनि सहयोग गरेको र आगामी वर्षमा पनि सहयोग जारी राख्ने प्रतिवद्धता जनाउनुभयो ।

उहाँले अध्ययन बिना संसार अन्धकार जस्तो हुने भन्दै विद्यार्थीहरुलाई लगनशील भएर अध्ययन गर्न र आफ्नो भविष्य उज्वल बनाउन आग्रह गर्नुभयो । उलकले २०३८ सालमा बाराही माविबाटै एसएलसी उत्तीर्ण गर्नुभएको थियो ।

सो अवसरमा पोखरा–५ का वडा सदस्य एवं विद्यालय व्यवस्थापन समितिका सदस्य मणिराम बरालले विद्यालयलाई शैक्षिक सामाग्रीसमेत हस्तान्तरण गर्नुभयो ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक शिवप्रसाद भण्डारीले स्वागत र सहायक प्रधानाध्यापक तुलसीप्रसाद भण्डारीले कार्यक्रम सञ्चालन गरेको विद्यालयका लेखाप्रमुख सच्चिन भट्टराईले जानकारी दिनुभयो ।

Comments
Loading...