प्रधानमन्त्री जन्मथलो लेवाडेमा प्रधानमन्त्री,विकासमा चासो

हिमाली आवाज । प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड) आज दिउसो जन्मथलो कास्कीको अन्नपूर्ण गाउँपालिकाको लेवाडे पुग्नुभयो ।
अन्तर प्रदेश मुख्यमन्त्री बैठक एवं राष्ट्रिय समन्वय परिषदको बैठकका लागि आज विहानमात्र पोखरा आइपुग्नुभएका उहाँ अन्तर प्रदेश बैठक उद्घाटन कार्यक्रम सम्पन्न भएलगत्तै जन्म गाउँ पुग्नु भएको हो ।

प्रचण्ड तेस्रोपटक प्रधानमन्त्री बनेपछि पहिलोपटक जन्म गाउँमा पाइला टेक्नुभएको थियो । उहाँ सकभर पोखरा आउँदा जन्म गाउँ लेवाडे पुगेर दाजुभाई तथा स्थानीयवासीसँग अन्तरक्रिया गर्न छुटाउनुहुँदैन ।

प्रधानमन्त्रीलाई आफ्नो गाउँमा पाएपछि लेवाडेवासी उत्साहित थिए । प्रधानमन्त्री प्रचण्डले लेवाडे लगायत आसपासका क्षेत्रको विकासका बारेमा चासो राख्नुभएको थियो ।

स्थानीय जनप्रतिनिधि तथा गाउँलेसँग उहाँले आफूले प्रारम्भिक शिक्षा लिएको महेन्द्र आधारभुत विद्यालय लगायत गाउँको विकासमा बारेमा चासो दिनुभएको अन्नपूर्ण गाउँपालिका—२ का वडाध्यक्ष पिताम्बर भण्डारीले बताउनुभयो ।

प्रधानमन्त्रीलाई आफ्नो गाउँमा पाउुँदा स्थानीयवासी समेत उत्साहित थिए । वडाध्यक्ष भण्डारीका अनुसार प्रधानमन्त्रीले गाउँको शिक्षा, स्वास्थ्य, बाटोघाटो तथा विकासका बारेमा कुराकानी गर्नुभएको थियो ।

भण्डारीले भन्नुभयो,“प्रधानमन्त्रीलाई पाउँदा हामी अत्यन्त खुशी भयौँ । उहाँले पनि मसिनो गरी यहाँको विकासका बारेमा कुराकानी गरेर चासो दिनुभयो । हामीले यहाँको अवस्थाका बारेमा उहाँलाई जानकारी गराऔँ । केही योजनामा सहयोग गर्न आग्रह गर्दा उहाँले आफ्नो तर्फबाट सहयोगको प्रतिवद्धता जनाउनुभयो ।”

स्थानीय जनतासँगको अन्तरक्रियामा प्रधानमन्त्रीले गाउँको अवस्था, खेतीबाली, मौसम लगायतका विषयमा जिज्ञासा राख्नुभएको थियो । वडाध्यक्ष भण्डारीले प्रधानमन्त्रीसँग विशेषगरी अन्नपूर्ण गाउँपालिकाको नागडाँडाबाट पामे हुँदै पोखरा जोड्ने सडक स्तरोन्नतिका लागि माग गरेको बताउनुभयो ।

वडाध्यक्ष भण्डारीले कास्कीको विकासमा प्रधानमन्त्रीले गर्नुभएको योगदानको प्रशंसा गर्दै आगामी दिनमा समेत यस क्षेत्रको विकासलाई प्राथमिकता दिन आग्रह गर्नुभएको थियो ।

सो अवसरमा प्रधानमन्त्रीले अन्नपूर्ण–२ का साथै हेम्जाका स्थानीयहरूसँग समेत अन्तरक्रिया गर्नुभएको थियो। अन्तरक्रियामा प्रधानमन्त्रीले स्थानीय अवस्था र जनताका अनुभूतिहरूबारे विशेष चासो राख्नुभएको थियो ।

Comments
Loading...