गठबन्धनको सरकार पाँच वर्ष चल्छ, कसैले हिलाएर हिल्दैन: प्रधानमन्त्री

हिमाली आवाज । प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डले गठबन्धनको सरकार पाँच वर्ष नै चल्ने बताउनुभएको छ ।
प्रेस सेन्टर नेपाल गण्डकी प्रदेशद्वारा आज पोखरामा आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो,“गठबन्धनको सरकार पाँच वर्ष चल्छ । यो कसैले हिलाएर हिल्दैन । हामी समझदारीका साथ अगाडि बढ्छौँ ।”

भ्रष्टाचारविरूद्ध अनुसन्धानको कार्यले थप तीब्रता पाउने बताउँदै उहाँले भ्रष्टाचार देशको बिकराल समस्या भएको उल्लेख गर्नुभयो ।
नक्कली भुटानी शरणार्थी प्रकरण होस् वा ललिता निवास प्रकरण होस्, यसमा सरकार दृढताका साथ सरकार अगाडि बढेको बताउँदै प्रधानमन्त्रीले थप तीव्रताका साथ अघि बढ्ने बताउनुभयो ।

बजेट पास होला कि नहोला भन्ने तरंग रहेको बताउँदै उहाँले बिनियोजन विधेयक पारित भइसकेपछि यो तरंग अन्त्य भएको छ भन्नुभयो ।
उहाँले भन्नुभयो, “यसपटक हामीले भिन्न ढंगले नै काम सुरू गरेका छौँ। यो सामान्य मात्र नभएर विशिष्ट प्रकृतिको छ। जनताले भोगका समस्या सम्बोधन गर्न हाम्रो पूरै कोसिस गरिएको छ । विदेशमा रहेका लाखौँ नेपाली श्रमिकहरूलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गरेका छौँ, यसको दूरगामी अर्थ छ ।”अर्थतन्त्र धरासायी बढी नै हुन्छ कि भन्ने रहेका अवस्थामा यो बिस्तारै लयमा फर्किएको उहाँले बताउनुभयो ।

यसपटकको भारत भ्रमण ऐतिहासक भएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले राष्ट्रको हितमा भारतसँग धेरै महत्त्वपूर्ण समझदारी भएको बताउनुभयो । “भारतीय प्रधानमन्त्रीले आफै सीमा समस्या हल गरिन्छ भन्ने कुरा ठूलो विषय हो । यसअघि भारतका कार्यकारी प्रमुखले यसबारे बोलेका छैनन्”, उहाँले भन्नुभयो ।

पारवाहन सन्धि पुनरावलोकन पनि महत्वपूर्ण निर्णय भएको र विद्युत व्यापार सम्झौता पनि सामान्य कुरा नभएको बताउँदै उहाँले १० वर्षमा १० हजार मेगावाट बिजुली निर्यात गर्ने समझदारी सामान्य नभएको बताउनुभयो । यसबाट विद्युत व्यापार पनि बढ्ने र लगानीको ढोका पनि खुल्ने बताउँदै यो आउने पिँढीले पनि सम्झिरहने काम भएको उल्लेख गर्नुभयो ।

राष्ट्र र जनताप्रति इमानदार भएर काम गरिरहेको बताउँदै प्रधानमन्त्रीले छिट्टै चीनको भ्रमणको तयारी भएको जानकारी गराउनुभयो । चीनमा पनि देश र जनताको हितमा अधिकतम राम्रो कोसिस हुने उहाँले बताउनुभयो ।

एयर रूटका लागि भारतसँग कुरा गरिएको र छिट्टै त्यो निष्कर्षमा पुग्ने बताउँदै उहाँले चीन जाँदा पनि यो विषयमा छलफल हुने बताउनुभयो ।
भ्रष्टाचारका सम्बन्धमा प्रहरीले आफ्नो तर्फबाट अनुसन्धान गरिरहेको र प्रहरीलाई सरकारले आवश्यक निर्देशित गरिरहेको बताउँदै उहाँले यो प्रक्रिया अगाडि बढिरहेको छ र निरन्तर अगाडि जाने बताउनुभयो ।

पोखरामा हिजो सम्पन्न प्रदेशका मुख्यमन्त्रीहरूको गम्भीर छलफल पछि संघीय सरकारका लागि ध्यानाकर्षण गर्न साझा धारणा आएको र त्यो दुरगामी महत्वको रहेको उहाँले बताउनुभयो ।

त्यस्तै आज सम्पन्न राष्ट्रिय समन्वय परिषद्को बैठकले सर्वसम्मत केही महत्वपूर्ण निर्णय गरेको बताउँदै उहाँले त्यसले संविधान कार्यान्वयनमा देखा परेका कतिपय समस्यालाई सम्बोधन गर्ने काम गरेको बताउनुभयो । तीनवटै सरकारको बीचमा समन्वय गर्न र संविधान कार्यान्वयनलाई प्रभावकारी बनाउन बैठकका निर्णय दुरगामी महत्वको रहेको उहाँले बताउनुभयो ।

Comments
Loading...