पोखरामा मापदण्ड पूरा नभएका मासु पसल बन्द गरिने, व्यवसायीलाई परिचयपत्र

हिमाली आवाज । पोखरा महानगरपालिकाले मासु पसल सञ्चालनका लागि तोकिएको न्यूनतम मापदण्ड पूरा गरेका पसलहरुलाई एकै प्रकारका बोर्ड तथा व्यवसाय परिचयपत्र वितरण गरेको छ ।

महानगरको पशु सेवा शाखाले आज आयोजना गरेको कार्यक्रममा प्रमुख धनराज आचार्य र उपप्रमुख मञ्जुदेवी गुरुङले व्यवसायीहरुलाई परिचयपत्र प्रदान गर्नुभएको हो ।

शाखा प्रमुख नवराज अधिकारीले पशुबध तथा मासु जाँच ऐन २०५५, नियमावली २०५७ तथा महानगरको मासु जाँच निर्देशिका अनुसारको मापदण्ड पालना गरेका ७४ पसलहरुलाई परिचपत्र र बोर्ड प्रदान गरिएको हो ।

उहाँका अनुसार महानगर क्षेत्रमा करिब छ सयको हाराहारीमा ठुला तथा साना मासु व्यवसायीहरू रहेका छन् । महानगरले पसलको एकरुपताका लागि सबै पसलहरुलाई एकै आकार र बनोटको बोर्ड हस्तान्तरण गरेको छ ।महानगर प्रमुख आचार्यले पोखरामा अब मापदण्ड विपरितका फ्रेस हाउसहरु बन्द गरिने बताउनुभयो ।

महानगरबाट अनुमति प्राप्त गरेको पसल हो भनेर चिनाउने गरी बोर्ड प्रदान गरिएकाले मान्यता प्राप्त पसलबाट मात्र मासु खरिद गर्न उहाँले पोखरेलीहरुलाई आग्रह समेत गर्नुभयो ।

महानगर प्रमुख आचार्यले भन्नुभयो,“अब केही समयपछि महानगरको बोर्ड नभएको पसलमा मासु खरिद विक्री नगर्नका हामी सार्वजनिक सूचना जारी गर्नेछौँ, महानगरबाट मान्यता प्राप्त गरेको र व्यवस्थित पसलमा स्वच्छ र स्वस्थ मासु किन्न आग्रह गर्नेछौँ । ”

महानगर प्रमुख आचार्यले महानगरले पोखरामा व्यवस्थित र सुविधासम्पन्न पशुबधशाला स्थापनाका लागि काम अघि बढाएको जानकारी दिनुभयो ।

महानगर उपप्रमुख मञ्जुदेवी गुरुङले स्वच्छ र सफा मासु खान पाउनु उपभोक्ताको अधिकार भएको बताउनुभयो । उहाँले मापदण्ड पालना नगरेका अन्य पसलहरुलाई समेत पूरा गरेर महानगरमा दर्ता भएर परिचपत्र लिन आग्रह गर्नुभयो ।

पशु शाखा प्रमुख अधिकारीले मासु पसलहरुलाई बोर्ड र व्यावसायिक परिचपत्र वितरणको काम नेपालमै पहिलो पटक सुरु भएको बताउनुभयो । मापदण्ड पूरा नभएका पसलहरुलाई केही दिनको समय दिएर बन्द गराइने उहाँले बताउनुभयो ।

अधिकारीले भन्नुभयो,“ महागनरले मापदण्ड विपरितकालाई बन्द गरेर पालना भएकाहरुलाई मात्र सञ्चालन गर्नेछ । बाँकी पसलहरु समेत केही समयपछि मापदण्ड पालनामा आउने विश्वास लिएका छौँ ।”

यसैगरी महानगरले विभिन्न पाँच विधाका उत्कृष्ट कृषकहरुलाई नगद सहित सम्मान गरेको छ । गाई, भँैसी, कुखुरा, बँगुर र बाख्रा पालनमा उत्कृष्ट कृषकलाई जनही रु १० हजार सहित पुरस्कृत गरिएको महानगरले जनाएको छ ।

उत्कृष्ट कृषक सम्मान प्राप्त गर्नेहरुमा पोखरा १५ का भैसीपालक कृषक दीपक तिमिल्सिना, पोखरा—२५ का गाई पालक कृषक धनश्याम तिमिल्सिना, पोखरा—१७ का कुखुरा पालक कृषक चन्द्रकान्त बराल, पोखरा—२० का बाख्रा पालक कृषक दुर्गा बहादुर गुरुङ र पोखरा— १९ का बङ्गुर पालक कृषक सरस्वती बस्ताकोटी हुनुहुन्छ ।

त्यसैगरी लामो समय कृषि तथा पशुपालनमा लागेकाहरुलाई ज्येष्ठ प्रवद्र्धक कृषकको सम्मान प्रदान गरिएको छ ।

Comments
Loading...