पोखरा बसपार्कबाट बस सञ्चालन नहुँदा ट्राफिक व्यवस्थापनमा समस्या

हिमाली आवाज । पोखराको पृथ्वीचोकमा सुविधासम्पन्न बसपार्क निर्माणका लागि चार दशकअघिनै जमिन छुट्टाइएको थियो ।
विसं २०३२ मा बसपार्कका लागि २०५ रोपनी जमिन छुट्टाइएपनि हालसम्म बसपार्कका बसपार्कको पूर्वाधार बन्न सकेको छैन । जग्गा समेत अतिक्रमणमा परेको छ । वर्षेनी बसपार्कको जमिन खुम्चिदै गएको छ ।

पर्यटकीय शहर पोखरामा सुविधासम्पन्न बसपार्क नहुँदा सडकपेटीबाटै लामो तथा छोटो दूरीका बसहरु गन्तव्यका लागि छुट्नुपर्ने बाध्यता छ भने बसपार्कका लागि तोकिएको क्षेत्रबाट समेत गाडीहरु छुटेका छैनन् ।

पृथ्वी होटल व्यवसायी समितिले सोमबार आयोजना गरेको पृथ्वीचोक आसपासको क्षेत्रलाई व्यवस्थित गर्ने सम्बन्धी अन्तरक्रिया कार्यक्रममा सरोकारवालाहरुले बसपार्कभित्रबाट बस सञ्चालन नहुँदा ट्राफिक व्यवस्थापनमा समस्या भएको बताएका छन् ।

सडकमै बस पार्किङ गर्दा सडक अस्तव्यस्त र कुरुप भएकाले बस समितिहरुले बसपार्कबाट गाडी सञ्चालन गर्नुपर्नेमा जोड दिइएको छ ।
सहारा क्लब पोखराका पूर्वअध्यक्ष विक्रम थकालीले सडकमा पार्किङ गरेर बस छुटाउँदा पृथ्वीचोक अस्तव्यस्त भएको बताउनुभयो ।

उहाँले भन्नुभयो,“लामो दूरीका गाडी समेत सडकबाटै छुटाउँदा पृथ्वीचोकदेखी चाइनापुलसम्म अस्तव्यस्त भएको छ । पृथ्वीचोकलाई व्यवस्थित गर्न बसहरु बसपार्कबाटै छुट्नुपर्दछ । यसमा सरोकारवालाहरुको ध्यान पुगोस् ।”

जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी शिव पाठकले बस सञ्चालकको लोभका कारण बसपार्कबाट बस नछु्टेको बताउनुभयो । उहाँले सडकबाट गाडी छुटाउँदा ट्राफिक व्यवस्थापर्न प्रहरीलाई सकस भएको बताउनुभयो ।

यात्रु तान्नका लागि बसहरु सडकमै पार्किङ गर्ने गरिएको उहाँको जिकिर छ । पाठकले भन्नुभयो,“यात्रु छोप्नका लागि सडकमै पार्किङ गर्ने गरिएको छ । बसहरु बसपार्कभित्रै छिर्नुपर्दछ । बसपार्कभित्रका ग्यारेज हटाएर यसलाई अझै व्यवस्थित गर्नु आवश्यक छ ।”

यातायात व्यवसायी भानुभक्त बरालले बसपार्क सानो भएकाले बसपार्कबाट बस नछुटेको बताउनुभयो ।उहाँले पोखरा बसको ‘क्यु’ बसपार्क केन्द्रित नभईकन भ्याली केन्द्रित भएको बताउनुभयो। उहाँले भन्नुभयो,“बसपार्क व्यवस्थित भयो भने बल्ल मात्र बसहरु बसपार्कबाट छुट्छन् ।”

पोखरा महानगरपालिका—९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीले बसपार्कमा ग्राभेल हालेर व्यवस्थित गर्न सुरुआत गरिएको बताउनुभयो । उहाँले व्यवस्थित बसपार्क निर्माणका लागि महानगरमा सबैले दवाव दिनु आवश्यक भएको बताउनुभयो ।महानगरले समेत आगामी वर्ष बसर्पाकका लागि बजेट विनियोजन नगरेकामा अध्यक्ष मर्सानीले दुःखेसो पोख्नुभयो ।
उहाँले भन्नुभयो,“वडाको बजेटले बसपार्क बनाउन सकिदैन । महानगर, प्रदेश सरकार र संघीय सरकारलाई दवाव दिनु आवश्यक छ, बसपार्कका लागि आन्दोलन गर्न परेपनि अब पछि हट्नु हुँदैन । ”

वडा प्रहरी कार्यालय बैदामका प्रमुख बेदप्रकाश जोशीले पर्यटकलाई बसपार्कमा तातातान गर्ने प्रवृत्तिले पोखराका बारेमा राम्रो सन्देश नजाने बताउनुभयो । उहाँले भन्नुभयो,“सबै जना स्वनियम र आचारसंहितामा बस्नु आवश्यक छ । ”

होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले पृथ्वीचोकमा आएर पर्यटकको झोला तान्ने जस्तो कार्यमा संलग्नलाई कारवाही गर्न माग गर्नुभयो । उहाँले कसैले पनि पर्यटकलाई दुःख दिन नहुनेमा जोड दिनुभयो ।

पोखरा उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष गोकर्ण कार्कीले व्यावसायिक एकता र स्वच्छ व्यवसाय सञ्चालनमा जोड दिनुभयो । पृथ्वीहोटल व्यवसायी समितिका अध्यक्ष बालकृष्ण न्यूरेले पर्यटकहरुको मुख्य प्रवेशद्धार पृथ्वीचोकलाई व्यवस्थित गराउनु आवश्यक रहेको बताउनुभयो ।

सभ्य र संयमित भई पर्यटकहरुलाई सकारात्मक सन्देश दिएर स्वस्थ प्रतिस्पर्धा मार्फत पर्यटकहरुलाई सन्तुष्ट बनाउनु होटल व्यवसायीको कर्तव्य भएको बताउनुभयो ।

विभिन्न कारणले पोखराको मुख्य बसपार्क व्यवस्थित हुन नसकेपनि अब राज्यलाई दवाव दिनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो,“अहिले भएको बसपार्कलाई व्यवस्थित गरेर आगन्तुक पाहुनाहरुलाई सभ्य र सुरक्षित पोखराको महसुुस गराउनुपर्दछ ।”

Comments
Loading...