वडाध्यक्ष गुरुङमाथि कानूनी कारवाहीको माग गर्दै वडामा तालावन्दी

हिमाली आवाज । कास्कीको माछापुच्छ«े गाउँपालिका—८ को कार्यालयमा तालावन्दी गरिएको छ ।

सोही वडाका वडाध्यक्ष राम बहादुर गुरुङले उपभोक्ता समितिका अध्यक्षमाथि कुटपिट गरेको भन्दै नेकपा(एमाले)ले वडा कार्यालयमा आज विहानदेखी तालाबन्दी गरेको हो ।

नेकपा(एमाले) वडा कमिटी ८ र ९ ले संयुक्त रुपमा वडामा तालाबन्दी गरेका हुन् । गत असार १६ गते वडाध्यक्ष गुरुङले खोराकोमुख—उपल्लो इदीखोला सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष अमृत भण्डारीलाई कुटपिट गरेको आरोप लागेको छ ।

पीडित भण्डारीले वडाध्यक्षमाथि कानुनी कारवाहीका लागि सोही दिन जिल्ला प्रशासन कार्यालयमा निवेदन दिनुभएको छ ।वडाध्यक्षमाथि पीडितले कानुनी कारवाहीका लागि प्रशासनमा उजुरी गरेपनि हालसम्म दोशीलाई कारवाही नभएपछि तालावन्दी गरिएको नेकपा(एमाले) माछापुच्छ«े गाउँपालिका कमिटीका अध्यक्ष विक्रम गुरुङले बताउनुभयो ।

राज्यशक्तिको आडमा वडाध्यक्षले पटक पटक दुव्र्यवहारका घटना घटाउँदा समेत कारवाही नभएको उहाँको भनाई छ । वडाध्यक्ष गुरुङले यसअघि गत फागुन दोस्रो साता आफ्नै वडाका कर्मचारीमाथि हातपात गरेपछि सबै कर्मचारी काम रोकेर आन्दोलनमा उत्रिएका थिए ।

एमाले गाउँ कमिटी अध्यक्ष गुरुङले भन्नुभयो,“ कुटपिटपछि प्रहरीमा निवेदन दिँदा समेत प्रहरीले जाहेरी लिन मानेन । पटक पटक यस्ता घटना दोहोरिएका छन् । दोशीलाई कानुनी कारवाहीको दायरामा ल्याएर सुरक्षाको प्रत्याभुति नहुँदासम्म तालावन्दी खुल्दैन ।”

वडाध्यक्ष गुरुङले भने सामान्य भनाभन भएको विषयलाई राजनीतिकरण गरेर उचालिएको बताउनुभयो । आफूले सडक योजनाको काममा ढिलाई भएपछि चासो दिएपनि कुटपिट नगरेको उहाँको दावी छ ।

उहाँले भन्नुभयो,“आर्थिक वर्षको अन्त्यसम्म पनि काम नसकिने देखेपछि चासो दिएको पक्कै हो । बारम्बार ताकेता गर्दा पनि काम भएन । पछि बाहिर सुन्दा आफ्नो मनखुसीले अर्कोलाई ठेक्का दिएको सुनें । के भएको भनेर सोधपुछ गरेको हो, कुटपिट गरेको छैन ।”

पीडित भण्डारीले आफू टिप्पर बनाउन वर्कसपमा रहेका बेला वडाध्यक्ष गुरुङले किन काम समयमै सम्पन्न नगरेको भन्दै एक्कासी हातपात गरेको बताउनुभयो ।

आफ्नो ज्यानको असुरक्षा भएकाले आफूले निर्माणस्थलमा पुगेर काम गर्ने वातावरण नभएको उहाँको भनाई छ । असारमसान्तमा योजनाको भुक्तानी सिफारिसदेखी विभिन्न कामको चाप हुने समयमा वडामा तालाबन्दीका कारण सेवाग्राही समस्यामा परेका छन् ।

Comments
Loading...