हिमाली आवाज । पोखरा महानगरपालिका—९ नयाँबजारमा अवस्थित सगरमाथा माध्यमिक विद्यालयले सरसफाई र वातावरण सम्बन्धी जनचेतना मूलक कार्यक्रम सञ्चालन गर्ने भएको छ । पोखराको बढ्दो वातावरण प्रदुषणलाई ध्यानमा राखेर सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यालयले सचेतनामुलक कार्यक्रम चलाउने तयारी गरेको हो ।
सगरमाथा मावि विद्यालय व्यवस्थापन समितिको मंगलबार अध्यक्ष हरिप्रसाद त्रिपाठीको अध्यक्षतामा बसेको पहिलो बैठकले सरसफाई र वातावरणका क्षेत्रमा काम गर्ने निर्णय गरेको हो ।

बैठकमा पोखरा महानगरपालिका—९ का वडा अध्यक्ष दीपेन्द्र मर्सानी, महानगर शिक्षा महाशाखाका प्रतिनिधि जीवन रेग्मी, अभिभावकद्धय सन्देश उदास,सरिता पुडासैनी अधिकारी, शिक्षक प्रतिनिधि कृष्णराज अधिकारी र प्राचार्य तथा सदस्य सचिव धनबहादुर थापाको उपस्थिति रहेको थियो ।
प्राचार्य थापाले वडा कार्यालय र विद्यालयबीचको सहकार्यमा स्थानीय टोल सुधार समिति सँग समन्वय गरी सरसफाई तथा वातावरण सम्वन्धी जनचेतना कार्यक्रम सञ्चालन गरिने छ ।
थापाले भन्नुभयो,“सरसफाइ र वातावरण पोखराको महत्वपूर्ण विषय हो । पर्यटकीय शहरलाई सँधै स्वच्छ र सफा राख्नका लागि हाम्रो तर्फबाट समेत केही योगदान पुगोस् भनेर कार्यक्रम सञ्चालन गर्न लागेका हौँ । ” विद्यालयले फोहर व्यवस्थापनको लागि आवश्यक पर्ने सामाग्रीहरु समेत हस्तान्तरण गरिने जनाएको छ ।