मादीमा पहिराले दुई परिवार विस्थापित,चार घर जोखिममा

हिमाली आवाज । कास्की जिल्लाको मादी गाउँपालिकामा अविरल वर्षापछिको पहिराले दुई घर परिवार पूर्ण रुपमा विस्थापित भएका छन् । त्यसैगरी चार घर जोखिममा परेका छन् ।मादीको वडा नं ६ का पाँच र वडा नं २ मा एक परिवार पहिराको जोखिममा परेको गाउँपालिकाले जनाएको छ ।

यही असार १९ गतेको अविरल वर्षाले मादी—६ को काहुँखोला—दूधपोखरी सडकको दोस्रो खण्डमा सजुक भेडीखर्क टोलको भेडीखर्क चोकमा पाँच परिवारको छ घरलाई पहिराले जोखिम पु¥याएको हो ।

अविरल वर्षापछि घरसँगैको सडक पहिरालो लैजाँदा स्थानीय कमलापति बरालको दुई घर र दीपक बरालको एक घर एक गोठमा क्षति पुगेको छ ।

यी दुबै परिवार विस्थापित भएर आफन्त तथा समाजघरमा आश्रय लिएको सोही वडाका वडाध्यक्ष डिलबहादुर क्षेत्रीले बताउनुभयो । त्यसैगरी स्थानीय शमसेर पाण्डेको एक घर, भगवानसिँह गुरुङको एक घर एक गोठ र विष्णुमाया घर्तीको एक घर र एक गोठ जोखिममा परेको
वडाध्यक्ष क्षेत्रीले घर जोखिममा परेकाहरुलाई उचित व्यवस्थापनका लागि गाउँपालिकामा सिफारिस गरिएको जानकारी दिनुभयो ।

वडाध्यक्ष क्षेत्रीले भन्नुभयो,“पहिराले विस्थापित परिवारलाई आफन्त तथा समाजघरमा राखिएको छ । प्रभावितहरुको व्यवस्थापनका लागि गाउँपालिकामा सिफारिस गरेका छौँ ।”गाउँपालिका अध्यक्ष देवीजङ्ग गुरुङले पहिराले पीडित परिवारलाई गाउँपालिकाबाट राहत प्रदान गरिने बताउनुभयो ।

उहाँले विस्थापितहरुलाई वैकल्पिक बसोवासका लागि पहल भइरहेको जानकारी दिनुभयो । अध्यक्ष गुरुङले भन्नुभयो,“विस्थापित परिवारलाई पालिकाबाट राहत दिन्छौँ । प्रदेश तथा सङ्घीय सरकारसँग समेत समन्वय गरी एकै दिन एउटै कार्यक्रम गरेर नियमानुसार उचित राहत प्रदान गर्नेछौँ ।”

अविरल वर्षा तथा पहिराका कारण मादीका अन्य वडामा समेत क्षति पुगेको बताइन्छ । विशेषगरी ग्रामिण सडकहरुमा पहिराले क्षति गराएको छ ।

Comments
Loading...