लम्पी स्किन महामारी : एक लाख ८० हजार पशुलाई खोप

हिमाली आवाज । सरकारले मुलुकभर फैलिएको लम्पी स्किन रोग नियन्त्रण गर्न हालसम्म एक लाख ८० हजारभन्दा बढी पशुमा यसको खोप लाउने कार्य सम्पन्न गरेको छ । लम्पी स्किन गाईभैँसीमा भाइरसको कारण लाग्ने महामारी रोग हो ।

सरकारले प्रभावित पशुको उपचारका लागि सङ्घ, प्रदेश र स्थानीय तहबाट औषधिको व्यवस्थासहित प्राविधिक परिचालन गरेको पशु सेवा विभागका महानिर्देशक डा.सम्झनाकुमारी काफ्लेले बताउनुभयो। साथै खोप आपूर्तिका लागि आयात अनुमति प्रदान गरी हालसम्म १० लाख ३७ हजार मात्रा खोप आयात भई सातवटै प्रदेशमा वितरण गरिसकिएको छ ।

विभिन्न जिल्लामा एक लाख ८० हजार एक सय २२ पशुमा खोप कार्य सम्पन्न भएको विभागको तथ्याङ्क छ । महानिर्देशक डा.काफ्लेका अनुसार यस रोगको उपचार विधि र यसबारे बारम्बार सोधिने प्रश्नउत्तरको सङ्गालो तयार गरी विभागको वेबसाइट समेतमा राखिएको छ । प्रदेश तथा स्थानीय तहसँग समन्वयका लागि प्रदेश र स्थानीय तहमा सम्पर्क व्यक्ति तोकिएको छ ।

सरकारले चालु आर्थिक वर्ष (२०७९÷८०) मा नै खर्च गर्ने गरी महानगरपालिका र सङ्क्रमण नफैलिएका जिल्लाबाहेक प्रत्येक स्थानीय तहमा महामारी नियन्त्रण गर्न सङ्घीय सःशर्त अनुदानअन्तर्गत रु एक लाखका दरले रकम विनियोजन गरेको छ । सो रकमबाट यथाशीघ्र औषधि उपचार तथा खोप खरिद कार्य गर्न सबै पालिकालाई अनुरोध गरिएको छ ।

Comments
Loading...