‘श्रीपती समाज सेवा पुरस्कार’ विन्ध्यवासिनीलाई, पत्रकारिता पुरस्कार कार्कीलाई

हिमाली आवाज । पोखराको रहेको श्रीपति कोइराला गुठीले सञ्चालन गर्दै आएको यस वर्षको ‘श्रीपती समाज सेवा पुरस्कार’ विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिलाई प्रदान गरिने भएको छ । त्यसैगरी पत्रकारिता पुरस्कार अग्रज पत्रकार नारायण कार्कीलाई प्रदान गरिने भएको छ । गुठीले बुधबार २१६ औं श्रीपति जयन्तिको अवसरमा दुवै पुरस्कार घोषणा गरेको ।

समाज सेवा पुरस्कारको राशि दुई लाख २२ हजार २२२ रुपैयाँ नगदसहित सम्मानपत्र र पदक रहेको छ । पुरस्कार छनोट समितिमा प्र.डा. दिलबहादुर क्षेत्री, गेहेन्द्रेश्वर कोइराला। प्रा. डा. विश्वकल्याण पराजुली, अशोक पालिखे, पत्रकार दीपेन्द्र श्रेष्ठ र बिमला भण्डारी रहनुभएको थियो ।

पुरस्कार गुठीको ३१ औं वार्षिक साधारणसभामा प्रदान गरिने गुठीका अध्यक्ष अध्यक्ष फणीन्द्रराज कोइरालाले जानकारी दिनुभयो । यस पुरस्कारबाट यसअघि माइती नेपाल, राष्ट्रिय आविष्कार केन्द्र र सर्लाहीको पद्य भवानी नमुना आश्रमलाई प्रदान गरिएको थियो ।

विन्ध्यवासिनी नेपालको प्रमुख शक्ति पीठहरुमध्येको एक हो । नेपाली र भारतीयहरुको धार्मिक आस्थाको केन्द्रको रुपमा रहेको विन्ध्यवासिनी मन्दिर हिन्दू मात्र नभई गैर हिन्दूसमेतको आस्थाको प्रतिकको रुपमा रहेको छ ।

समितिले धर्म सँस्कृति संरक्षणका लागि धार्मिक कथा वाचन सञ्चालन गर्दै आएको छ । टाढा टाढाबाट आउने साधु सन्त तथा दर्शनार्थीहरुका लागि आवास तथा भोजनको व्यवस्था गरेर समाजमा उत्कृष्ठ सामाजिक सेवा प्रदान गरेको भन्दै यस वर्षको श्रीपती समाज सेवा पुरस्कार प्रदान गर्ने निर्णय गरिएको गुठीका सचिव नवराज कोईरालाले बताउनुभयो ।

यसैगरी वरिष्ठ पत्रकार नारायण कार्कीलाई प्रदान गरिने। पुरस्कारको राशि २२ हजार २२२ रुपैयाँ नगद रहेको छ । यो पुरस्कार प्रथम पटक पत्रकार कृष्णप्रसाद बास्तोलालाई प्रदान गरिएको थियो ।

२०२९ सालमा राससबाट पत्रकारिता शुरु गर्नुभएका कार्कीले पत्रकारितामा पाँच दशक बिताइसक्नुभएको छ । उहाँ हाल विविसी नेपाली सेवाको गण्डकी प्रदेश ब्यूरो प्रमुखका रुपमा कार्यरत हुनुहुन्छ ।

Comments
Loading...