हिमाली आवाज । पोखरा महानगरपालिका वडा नम्बर २७ का कृष्णहादुर चोचांगी बिहिबार प्रफुल्ल मुद्रामा भेटिनुभयो । आफूले ३० रोपनी जग्गामा सघन प्रजातिको घाँस उत्पादन गरेवापत महानगरबाट ७८ हजार ४ सय रुपैयाँ अनुदान पाएपछि उहाँ मख्ख हुनुहुन्थ्यो ।
जलजला कृषि मल्टि एग्रगो फर्म सञ्चालन गरेर उहाँले तीन वर्षदेखि घाँस खेती गर्दै आउनुभएको छ । ४० रोपनीमा खेती गरेपनि ३० रोपनीका अनुदान पाउनुभयो । उहाँले भन्नुभयो,“यो चोखो अनुदान हो । महानगरलाई धन्यबाद । किन भन्दा घाँस महानगरले लादैन । पैशा पनि घाँस पनि दिनुभयो, घाँस फार्मको लागि भयो पैशापनि भयो ।”
कृष्णहादुर चोचांगी जस्तै सघन घाँस खेती गर्ने पोखरा महानगरभित्रका ७० जना किसानले महानगरबाट अनुदान पाएका छन् । ७० जना किसानलाई महानगर उपप्रमुख मञ्जुदेवी गुरुङ, वडा नम्वर ३ का अध्यक्ष प्रकाशमान उदास, पोखरा २६ का वडा अध्यक्ष पूर्णबहादुर गुरुङ, कार्यपालिका सदस्य निर्मला पौडल र महानगर आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरियाले ९ लाख रुपैयाँ अनुदान वितरण गर्नुभयो ।
महानगर पशु सेवा शाखाकाअनुसार प्रति तीन रोपनी क्षेत्रफलभन्दा माथि सघन घाँस उत्पादन गर्ने किसानले प्रति रोपनी २६ सय हजारका दरले अनुदान पाएको पशुसेवा शाखा प्रमुख नवराज अधिकारीले बताउुनभयो ।

अनुदार वितरण कार्यक्रममा बोल्दै पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङले पोखराको आर्थिक विकासको आधार पर्यटन र कृषि रहेको बताउँदै पोखरा पर्यटकीय क्षेत्र भए पनि कृषिमा पनि उत्तिकै सम्भावना रहेको सुनाउनुभयो । ‘यहाँको कृषि क्षेत्रलाई सुधार्न घाँस र बिउसँगसँगै उत्पादन गर्नुपर्दछ,’ उहाँले भन्नुभयो ।
पोखरा महानगरपालिका वडा नम्वर २७ का अध्यक्ष पूर्णबहादुर गुरुङले अझै पनि किसानको मुहारमा चमक ल्याउन नसकेको बताउदै किसानमैत्री कार्यक्रम ल्याउनुपर्छ भन्ने पक्षमा रहेको बताउनुभयो ।
कार्यपालिका सदस्य निर्मला पौडेलले कृषकहरुलाई उत्साहित भएर खेती गर्न आग्रह गर्दै विरामी भैसी र गाईको दुध विक्री विरण नगर्न आग्रह गर्नुभयो ।
पोखरा महानगर आर्थिक विकास महाशाखा प्रमुख मनोहर कडरियाले कृषि उत्पादन बढाउन किसानकै मागका आधारमा महानगरले अनुदान कार्यक्रम ल्याएको बताउनुभयो ।कार्यक्रममा भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कास्कीका शम्भुराज पाण्डेले घाँसमा अनुदान कार्यक्रम प्रभावकारी रहेको बताउनुभयो ।