पोखरा महानगरका सुन्तला उत्पादक किसानलाई प्रोत्साहन रकम

हिमाली आवाज । पोखरा महानगरपालिकाले पोखरा महानगरपालिका–२१ का सुन्तला उत्पादक किसानलाई सुन्तला बगैंचा व्यवस्थापन अभियानअन्तर्गतको प्रोत्साहन रकम हस्तान्तरण गरेको छ ।

वडाभित्र सुन्तला उत्पादन गरिरहेका कृषकको बगैंचा व्यवस्थापनअन्तर्गत प्रतिबोट १०० रुपैयाँका दरले कूल २५ लाख ५० हजार रुपैयाँ हस्तान्तरण गरिएको हो ।

‘सिट्रस ग्रिनिङ’ लगायतका ‘भाइरस’ एवं रोगका कारण विभिन्न स्थानमा सुन्तलाखेती संकटग्रस्त बन्दै गएका अवस्थामा विगत ४ वर्षयता महानगरपालिकामा सञ्चालित सुन्तला बगैंचा व्यवस्थापन कार्यक्रमले सकारात्मक प्रभाव पारेको पोखरा महानगरपालिका कृषि महाशाखा प्रमुख मनोहर कडरियाले बताउनुभयो ।

पछिल्लो डेढ दशकयता कास्कीका सुन्तला उत्पादनका पकेट क्षेत्र विभिन्न रोगका कारण संकटग्रस्त बन्दै गएसँगै महानगरपालिकाले बगैंचा व्यवस्थापन अभियान थालेको मडरियाले बताउनुभयो । प्राविधिक सहितको टोलीले प्रत्येक कृषकको सुन्तला बगैंचामा पुगेर गरिएको अनुगमनको आधारमा अनुदान उपलब्ध गराइने गरिएको छ ।

पोखरा महानगरपालिकाले आइतवार आयोजित एक कार्यक्रमका महानगर प्रमुख धनराज आचार्यले सुन्तला बगैंचा व्यवस्थापन बापतको प्रोत्साहन रकम हस्तान्तरण गर्नुभयो । प्रमुख आचार्यले महानगरपालिकाले तोकेअनुसारको कृषिउपजको न्यूनतम समर्थन मूल्यबापतको आव २०७९÷८० को रकम समेत हस्तान्तरण गर्नुभयो ।

कार्यक्रममा पोखरा च्याउ उत्पादक कृषक समूहलाई ५९ हजार २२९ किलो च्याउको २१ लाख ४३ हजार ८२२ रुपैयाँ तथा सावित्री हराभरा एकीकृत कृषि फार्मलाई गोलभेंडा २० टन, बन्दा ४० टन, काउली १ हजार ५५३ केजी, घिरौंला १ हजार १०५ केजीको ४ लाख २९ हजार ५३७ रुपैयाँको समर्थन मूल्य सहयोगको चेक हस्तान्तरण गरियो ।

आर्थिक वर्ष २०७९÷८० अन्तर्गत यस पालिकाभित्र उत्पादन भएका तर तोकिएको मूल्य नपाएका १ लाख २७ हजार ४९० केजी तरकारीको २७ लाख भुक्तानी दिएको छ । महानगरले विभिन्न २३ वटा कृषिउपजको न्यूनतम मूल्य तोकेको छ । तोकिएको न्यूनतम समर्थन मूल्यभन्दा कम पर्ने अवस्थामा कम भएको रकमको भुक्तानी महानगरपालिकाले उपलब्ध गराउने व्यवस्था गरिएको छ ।

त्यसका लागि खेती गर्नुपूर्व कृषकले आफूले उत्पादन गर्ने सम्भावित उत्पादन सूचीकृत गर्नुपर्ने, बजारमा प्रतिस्पर्धी मूल्यमा बेच्नुपर्ने लगायतका शर्त निर्धारण गरिएको कृषि महाशाखा प्रमुख कडरियाले बताउनुभयो । कार्यक्रममा महानगर प्रमुख आचार्य, पोखरा महानगरपालिका शहरी योजना आयोगका उपाध्यक्ष प्रेमलाल लामिछाने, पोखरा–२१ का वडाध्यक्ष दीपक सुवेदी लगायतले उत्पादनमा जोड दिन आग्रह गर्दै महानगरका तर्फबाट साथ र सहयोग हुने विश्वास व्यक्त गर्नुभयो ।

Comments
Loading...