हिमाली आवाज । पशुहरुमा महामारीका रुपमा फैलिएको लम्पी स्किन रोग विरुद्ध जिल्लामा धमाधम खोप कार्यक्रम सञ्चालन भएको छ ।
महामारी फैलिदासम्म खोप खरिदका लागि बजेट अभावले काम सुरु नभएकामा असार अन्तिम सातादेखी पशुहरुमा खोप लगाउन सुरु गरिएको हो ।
पोखरा महानगरपालिका र चार गाउँपालिका रहेको कास्कीमा सबै पालिकामा गरी हालसम्म १२ हजार ८५० गाई ,भैँसी र गोरुलाई लम्पी स्किनको खोप लगाइएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कास्कीले जनाएको छ ।
केन्द्रका प्रमुख वरिष्ठ पशु विकास अधिकृत शम्भुराज पाण्डेले सुरुआतमा बजेट अभावमा खोप खरिद गर्न नसकिएको बताउनुभयो ।
उहाँले भन्नुभयो,“अन्य रोगको खोप कार्यक्रम सञ्चालन भएपनि लम्पीका लागि बजेट र खोपको व्यवस्था थिएन । असारको अन्तिम साता आएर बल्ल बजेट व्यवस्था भएपनि खोप खरीद गरेर खोप कार्यक्रम सुरु गरेका हौँ । ”
महामारी फैलिदै जाँदा कतिपय व्यावसायिक फार्महरुले आफैले खोप किनेर समेत पशुमा लगाएका थिए । प्रदेश सरकारले लम्पी स्किन विरुद्धको खोपका लागि रु १० लाख बजेट जिल्लास्थित भेटेरिनरी अस्पतालहरुमा पठाएको थियो ।
जिल्लामा हालसम्म १३ हजार ३०७ गाई गोरु र तीन सय ३१ भैँसी पशु लम्पी स्किनबाट सङ्क्रमित भएकामा चार सय २९ को गाई गोरुको मृत्यु भएको छ ।

भैँसी भने सङ्क्रमबाट मरेका छैनन् । पोखरा महानगरपालिकामा सबैभन्दा बढी पशु सङ्क्रमित छन् । पोखरामा १० हजार २४२ गाई गोरु र दुई सय ७१ भैँसी सङ्क्रमित भएको केन्द्रका पशु विकास अधिकृत सहदेव पौडेलले जानकारी दिनुभयो ।
माछापुच्छ«े गाउँपालिकामा एक सय ५० गाई गोरु र १२ भैँसी, अन्नपूर्णमा गाई दुई सय १९ र भैँसी सात, रुपामा एक हजार ७८२ गाई र गोरु तथा एक भैँसी र मादीमा नौ सय १४ गाई र ४७ भैँसी लम्पीबाट सङ्क्रमित भएको कार्यालयले जनाएको छ ।
हालसम्म पोखरा महानगरमा छ हजार ५००, माछापुच्छ«ेमा तीन हजार ६००,अन्नपूर्णमा एक हजार ४५० र रुपामा एक हजार ३०० गाई,भैँसीमा खोप लगाइएको पौडेलले बताउनुभयो ।
लम्पी स्किन गाईभैँसीलाई हुने सङ्क्रामक रोग हो । लामखुट्टे, टोक्ने झिँगा र किर्नाजस्ता कीराको टोकाइबाट यो रोग सर्ने गरेको पशु स्वास्थ्य प्राविधिकहरुको भनाई छ । गर्मीयाममा लामखुट्टे र किर्ना आदिको सङ्ख्या बढ्ने र ती कीरा बढी सक्रिय हुने भएकाले यसको प्रकोप अझ बढी देखिन्छ ।
रोगबाट सङ्क्रमित गाईभैँसीको दूध उत्पादनमा तीव्र गिरावट आउनुका साथै उच्च ज्वरो आउने, तौल घट्ने र कहिलेकाहीँ मृत्यु पनि हुन सक्छ ।