हिमाली आवाज । नेपालका चर्चित विभिन्न १० कम्पनीका करिब २ दर्जन ब्रान्डका जुत्ता, चप्पलको साझा बिक्री कक्ष शुक्रबारदेखि पोखरामा ‘पोखरा फुटवेयर बिजनेस सेन्टर’ सञ्चालनमा आएको छ । १० कम्पनीले साझा रुपमा खोलेको साझा शोरुमको उद्घाटन गण्डकी प्रदेशका कृषि, भूमि व्यवस्थामन्त्री महेन्द्रध्वज जिसीले गर्नुभयो ।
१० कम्पनीको संयुक्त शोरुममा शिखर, सु–ल्यान्ड, पिजी सुज, वन वल्र्ड, फुटस्टेप, बोस सुज, रन सुज, ब्याम्बो सुज, स्मार्ट सुज, हिमानी कलेक्सन कम्पनीका हजारौं उत्पादन एकै छानामुनि खरिद गर्न सकिने सेन्टरले जनाएको छ । सेन्टर करिब एक करोड रुपैयाँ लगानीमा सञ्चालनमा आएको हो ।
शोरुमको उद्घाटन गर्दै मन्त्री जिसीले नेपालमा उद्योग विकासका लागि दक्ष जनशक्तिको अभाव रहेको सुनाउनुभयो । उद्योग तथा व्यवसाय सुरु गरे पनि चर्को राजनीतिको मारमा पर्ने गरेको उहाँको भनाइ थियो ।
‘हाम्रा राजनीतिक दलका पनि गल्ती छन् । युनियन खोल्दिहाल्ने, त्यसको भोलिपल्टैबाट अर्को वितण्डा सुरु,’ मन्त्री जिसीले भन्नुभयो, ‘कति आम्दानी, कति खर्च भन्दा पनि युनियन कहीं न कहीं म्यानुप्लेट हुँदा समस्या भइरहेको छ ।’

नेपाल फुटवेयर एसोसियनका उपाध्यक्ष रुद्रनाथ न्यौपानेले नेपाली बजारलाई आवश्यक पर्ने शतप्रतिशत जुत्ता, चप्पल उत्पादन गर्न सक्ने गरी नेपाली उद्योग तयार भइसकेका बताउनुभयो।
न्यौपानेले नेपालमा वार्षिक करिब ११ करोड जोडी जुत्ताचप्पलको खपत हुने जानकारी दिँदै भन्नुभयो,‘त्यसमध्ये ६५ प्रतिशत नेपाली जुत्ताचप्पलको उत्पादन खपत भइराखेको छ । अब त्यो ६५ लाई सय प्रतिशत पु¥याउन उत्पादनमात्रै नभएर बिक्रीवितरण च्यानललाई पनि व्यवस्थित बनाउन लागिरहेका छौं ।’
फुटवेयर बिजनेस सेन्टरका अर्का उपाध्यक्ष सुरज बञ्जाडेले पर्यटनका हिसाबले गण्डकी अग्रणी स्थानमा रहेको र अब उद्योगमा पनि अग्रणीस्थानमा ल्याउने आफूहरुको योजना रहेको उल्लेख गर्नुभयो । ‘यो सेन्टरले हामीलाई मात्रै होइन, पोखराका आसपासका उद्यमी जो, जुत्ताचप्पलमा लगानी गर्न चाहनुहुन्छ, उहाँहरुलाई पनि सहयोग हुने विश्वास लिएका छौं,’ उहाँले भन्नुभयो ।
फुटवेयर बिजनसेस सेन्टर उद्घाटनका अवसरमा विशेष छूटको पनि व्यवस्था गरिएको छ । साउन महिनाभरि सेन्टरमा भएका हरेक कम्पनीका उत्पादनमा १५ प्रतिशतसम्म छूटको व्यवस्था गरिएको बञ्जाडेले जानकारी दिनुभयो।