रिभानको निष्पक्ष माविलाई स्विस नागरिकबाट रु १५ लाख सहयोग

हिमाली आवाज । कास्की जिल्लाको माछापुच्छ«े गाउँपालिका—५ रिभानमा अवस्थित निष्पक्ष माध्यमिक विद्यालयमा पहिरो रोकथामका लागि विदेशबाट रु १५ लाख सहयोग प्राप्त भएको छ ।

गत वर्ष असारमा अविरल वर्षापछि पहिराले विद्यालय जोखिममा परेपछि स्वीजरल्याण्डका मार्टिन सिँगर र कुस्शी दम्पतीले सो रकम प्रदान गरेका हुन् ।

सहयोग रकमको चेक आज स्वीजरल्याण्डकै एरिकले विद्यालयका प्रधानाध्यापक दुर्गावहादुर रावतलाई हस्तान्तरण गर्नुभयो ।
स्वीजरल्याण्डका व्यवसायी दम्पती गत वैशाखमा एरिकसँग विद्यालयमा पुगेका थिए । विद्यालयको खेल मैदानसम्म पहिराले लगेको प्रत्यक्ष देखेपछि उनीहरुमा सहयोगको भावना जागृत भएको थियो ।

त्यस बेला आफ्नो तर्फबाट सहयोग गर्ने प्रतिवद्धता जनाएका उनीहरुले सहयोग रकम एरिकमार्फत विद्यालयलाई हस्तान्तरण गरेको विद्यालयका प्रधानाध्यापक रावतले बताउनुभयो ।

उहाँका अनुसार विद्यालयका पूर्व अङ्ग्रेजी शिक्षक क्रान्ति गिरीमार्फत सम्पर्कमा आउनुभएका एरिकले सहयोग जुटाउने काम गर्नुभएको थियो ।

प्रधानाध्यापक रावतले भन्नुभयो,“पहिराले विद्यालय जोखिममा परेको देखेपछि उहाँहरु विद्यार्थीका बारेमा चिन्तित हुनुभएको थियो । स्वीजरल्याण्ड फर्केर सहयोग गर्ने प्रतिवद्धता जनाएपनि हामीहरु विश्वस्त थियनौँ । तर हामीले आशा गरेभन्दा पनि बढी रकम सहयोग पाउँदा खुशी भएका छौँ।”

पहिरो रोकथामका लागि गत वर्ष प्रदेश सरकार गाउँपालिकाबाट रु पाँच लाखका दरले बजेट विनियोजन भएर काम भए पनि अझै धेरै काम बाँकी छ । संरक्षणका कामका लागि रु ३५ लाख खर्च लाग्ने अनुमान गरिएपनि चालू वर्षमा भने प्रदेश र पालिकाबाट बजेट विनियोजन नभएको विद्यालयले जनाएको छ ।

स्वीजरल्याण्डका दुई नागरिकबाट सहयोग रकम प्राप्त भएपछि छिटटै काम अघि बढाइने प्रधानाध्यापक रावतले बताउनुभयो । “हाम्रो विद्यालयका लागि उहाँहरुले ठूलो सहयोग गर्नुभएको छ । उहाँहरुको चाहना अनुसानै विद्यालयको भवन संरक्षणका काम अघि बढाउँछौँ ।” उहाँले भन्नुभयो ।

स्विस नागरिक विद्यालय भ्रमणका बेला विद्यालयको शैक्षिक र व्यवस्थापकीय वातावरण, कम्प्युटर ल्याव लगायतका पूर्वाधारबाट उत्साहित भएका थिए ।

सहयोग रकम हस्तान्तरण कार्यक्रममा वडा अध्यक्ष नारायण प्रसाद पौडेल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भरतराज अधिकराी, विद्यालय व्यवस्थापन समितिका सदस्यहरु, शिक्षक अभिभावक संघका सदस्यहरु सहायक प्रधानाध्यापक सोमनाथ लामिछाने, सहयोग रकमका लागि सहजीकरण गर्नुहुने विद्यालयका पूर्वशिक्षिका क्रान्ति गिरी लगायतले सहयोग प्राप्त भएकामा खुशी व्यक्त गर्नुभएको थियो।

Comments
Loading...