पृथ्वीचोक बसपार्क अगाडि पार्किङ निषेध,अबदेखी बसपार्कबाटै बस छुट्ने

हिमाली आवाज । पर्यटकीय शहर पोखरामा आधुनिक र सुविधासम्पन्न बसपार्क निर्माणका लागि विसं २०३२ मा २०५ रोपनी क्षेत्रफल जमिन अधिग्रहण गरिएको थियो ।

पोखरा—९ पृथ्वीचोकमा बसपार्कका लागि छुट्टाइएको स्थानमा पाँच दशक पुग्न लाग्दा समेत हालसम्म बसपार्कका पूर्वाधार बन्न सकेका छैनन् ।
तर बसपार्क बनाउन छुट्टाइएको जमिन वर्षेनी अतिक्रमणमा परेको छ । बसपार्कभित्र पूर्वाधार नबन्दा लामो तथा बजार क्षेत्रभित्र चल्ने सबै बसहरु बसपार्क अगाडिको सडकबाट गन्तव्यका लागि छुट्ने गरेकामा अबदेखी सबै बसहरुले आफ्नो सेवा बसपार्कबाटनै दिनुपर्ने भएको छ । अहिले बसपार्कभित्रको जमिनमा खाल्डाखुल्डी पुरेर समथर बनाइएको छ ।

सडक पेटीमै बस पार्किङ गरेर यात्रु चढाउँदा र झार्ने गर्दा मुख्य बजार क्षेत्र अस्तव्यस्त भएपछि पोखरा महानगरपालिकाले आइतबारदेखी सडकमा पार्किङ हटाएको थियो । पार्किङ हटाएपछि आजदेखी लागू हुने गरी पोखरा प्रवेश गर्ने तथा पोखराबाट बाहिरिने सम्पूर्ण बस सेवा बसपार्कभित्रबाटै सञ्चालन गर्ने निर्णय गरिएको छ ।

महानगरपालिकाले पोखरा बसपार्क क्षेत्रमा पर्ने पृथ्वीचोकदेखि सेतीपुल(चाईनापुल)सम्मको सडकमा पार्किङ गर्न रोक लगाएको हो ।
जिल्ला सुरक्षा समिति कास्की र पोखरा महानगरको समन्वयात्मक बैठकले सो निर्णय गरेको हो । दुई दिनभन्दा बढी बसपार्कमा होल्ड भई बस्ने सवारी साधनहरुलाई महानगरको प्रशासनीक भवन निर्माणस्थल ड्यामसाइडमा व्यवस्थापन गरिएको महानगरले जनाएको छ ।

राजमार्गसँगै बसपार्क जोडिएकाले सडकमा पार्किङ गर्दा सवारी आवागमनमा असर पर्नुका साथै बाहिरबाट आएका पर्यटकले बसपार्क अव्यवस्थित र कुरुप देखिदा पोखराको सुन्दरतामाथिनै प्रश्न उठेपछि बसपार्क वरपरको सडकमा पार्किङ हटाइएको हो ।

सडक छेउमा हुने पार्किङका कारण सवारीको आवागमनमा असहजता सहित दुर्घटनाको समेत जोखिम बढेपछि अनधिकृत पार्किङ हटाइएको महानगर प्रमुख धनराज आचार्यले बताउनुभयो । उहाँका अनुसार लामो तथा छोटो दूरीका सबै बसहरु अवदेखी बसपार्कभित्रबाट छुट्ने व्यवस्था गरिएको छ ।

उहाँले भन्नुभयो,“पृथ्वीचोकबाट छुट्ने छोटो तथा लामो लामो दुरीका बसहरु बसपार्कबाट नै छुट्ने छुटाउने व्यस्थापन गरिएको छ । महानगरले यातायात व्यवसायीहरुसँग समन्वय गरेको छ । ”

महानगरपालिका, ट्राफिक प्रहरी, स्थानीयवासी र व्यवसायीहरु समेतको सहयोगमा सडकको पार्किङ हटाइएको महानगरका प्रवक्ता मोति तिमिल्सिनाले बताउनुभयो ।

उहाँले भन्नुभयो,“क्युमा बस्ने लामो दूरीका बसलार्ई मात्रै सडकमा राख्न दिएका छौं । अन्य सबै सवारीलाई पार्किङ नगर्न सूचित गर्ने, सूचना बोर्ड राख्ने लगायतका काम गरेका छौँ । सडकबाट पार्किङ हटाउने अहिलेको निर्णय पहिलेको जस्तो फिर्ता हुँदैन ।”

Comments
Loading...