हिमाली आवाज । प्याराग्लाइडिङ दुर्घटनामा निधन हुनुभएका खेलाडी निसिम थापाको सालिक राख्ने काम पोखरामा अघि बढेको छ ।
नवौं राष्ट्रिय खेलकुदका दौरान प्याराग्लाइडिङ प्रतिस्पर्धाकै क्रममा दुर्घटनामा थापाको निधन भएपछि सम्मान स्वरुप उहाँको पोखरा रङ्गशालाभित्र अर्थकदको सालिक राख्न लागिएको हो ।
सालिक राख्ने कार्यको शनिबार एक कार्यक्रमबीच शिलान्यास गरिएको छ ।थापाको सालिक रङ्गशालाको परिसर भित्र रहेको ओलम्पिक टर्चको नजिकैको स्थानमा बनाउन लागिएको हो । वरिपरि पार्क समेत निर्माण गरिने निसिम फाउन्डेसनले जनाएको छ ।

राष्ट्रिय खेलकुद प्रतियोगिताका क्रममा गत असोज ३० गते प्याराग्लाइडिङ दुर्घटनामा नेपाली सेनाका खेलाडी निसिमको ज्यान भएको थियो । राष्ट्रिय खेलकुद परिषद्ले खेलका दौरान ज्यान गुमाउने खेलाडी थापाको सम्मानस्वरुप सालिक स्थापना गर्ने निर्णय सोही बेलानै गरेको थियो ।
शिलान्यास कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद(राखेप)का सदस्य राजेश गुरुङले नवौ राष्ट्रिय खेलकुद प्रतियोगितामा निसिमलाई गुमाउन पर्दा निकै दुःख लागेकोे बताउनुभयो ।
उहाँले भन्नुभयो,“स्व.निसिम थापाको सम्मानको लागि राष्ट्रिय खेलकुद परिषदको विशेष पहलमा सालिक राख्न लागिएको हो । खेलको माध्यमबाट योगदान पु¥याउने व्याक्तिको शालिक रङ्गशालामा निर्माण गरिदा पछिल्लो पुस्तालाई सकारात्मक सन्देश जान्छ ।”
फाउन्डेसनको लागि विभिन्न संघसंस्था व्यक्तिले समेत आर्थिक सहयोग प्रदान गरिरहेका छन् । नेपाली सेनाले रु १० लाख सहयोग गरेको स्व.निसिमकी आमा सावित्रि थापाले बताउनुभयो ।
शिलान्यास कार्यक्रममा निसिमका बुबा प्रकाश थापा,हजुरआमा सोभा देवी मोक्तान,परिवारका सदस्यहरु, पश्मिाञ्चल क्षेत्रीय खेलकुद विकास समिति पोखराका प्रमुख लक्ष्मण योगी,खेलाडीहरु लगायतको उपस्थिीति रहेको थियो ।