हिमाली आवाज । पोखरा महानगरपालिका—३२ मा रहेको बडहरे जाने बाटोमा पर्ने अठारको डिल स्थित तालखोलामा जीर्ण भएको लामो समय भयो । सो पुलबाट हाल जोखमि मोलेर स्थानीयवासीले आवतजावत गर्नुपरेको छ ।
स्थानीयले ज्यान हत्केलामा राखेर यात्रा गर्नुपर्ने अवस्था आएपछि यसतर्फ गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास यातायात व्यवस्थामन्त्री रेशम जुग्जालीले विशेष चासो दिनुभएको छ । केही सञ्चार माध्यममा पुलको जोखिमपूर्ण अवस्थाको बारेमा सार्वजनिक भएपछि मन्त्री जुग्जालीले चासो दिएर आफै निरिक्षणमा गई अस्थाई पुल बनाउन अगुवाई गर्नुभएको हो ।
मन्त्री जुग्जालीले आज मन्त्रालयको योजना अनुगमन महाशाखाका प्रमुख लक्ष्मीप्रसाद भण्डारी, पुर्वाधार विकास कार्यालय कास्कीका प्रमुख डा. महेन्द्र बानिया, पोखरा–३२ का वडा अध्यक्ष अक्कलबहादुर कार्की, मन्त्रीका निजी सचिव ई. आनन्द भट्टराई लगायतको टोली सहित स्थलगत निरीक्षण गरेर तत्कालै सो स्थानमा अस्थायी पुल बनाउन निर्देशन दिनुभएको छ । पुलको आधा भाग भत्किएर खोलामा खसेको पुलको सल्यापमाथि राखिएको बाँस र काठमा टेकेर जोखिमपूर्ण तवरले वारपार गर्नुपर्ने अवस्था छ ।
बर्खायाममा तालखोलामा बाढी आउँदा खोलाबाट वारपार गर्न स्थानीयलाई हम्मेहम्मे पर्ने गरेको छ । पुलबाट खसेमा खोलाले बगाउने अवस्था छ । सो पुलको कहालीलाग्दो दृष्यले दुर्गम र विकट ठाउँको झल्को दिने गरेको स्थानीयवासी बताउँछन् ।

तालखोलामा आवत जावत गर्न बनाइएको पक्की कल्भर्ट (ढलान गरिएको छोटो पुल) भत्किएपछि बडहरेका दुई सय घरधुरी र ब्रह्मरुपा माध्यमिक विद्यालयमा अध्ययन गर्ने ६० जना भन्दा बढी विद्यार्थीहरु तीन वर्षदेखी जोखिम मोलेर आवत जावत गर्दै आएका छन् ।
मन्त्री जुग्जालीले सो ठाउँमा आगामी १० दिनभित्र सम्पन्न हुने गरी अस्थायी फलामको पुल बनाउन पूर्वाधार विकास कार्यालय कास्कीलाई निर्देशन दिनुभयो ।
पोखरा–३२ का वडा अध्यक्ष कार्कीले वडा, महानगर र मन्त्रालयले समन्वय गरेर तत्काल अस्थायी पुल बनाएर जोखिमपूर्ण रुपमा आवत जावत गर्नुपर्ने हटाउने सहमति गरेको जानकारी दिनुभयो ।
कार्कीले भन्नुभयो,“पक्की पुल बनाउन तयार पारिएको विस्तृत परियोजना प्रतिवेदन बजेट अभावमा कार्यान्वयन भएको छैन दीर्घकालिन समस्या समाधानका लागि पक्कि मोटरेबल पुल बनाउन मन्त्रालयको टोलीसँग छलफल गरेका छौ ।”
वडा अध्यक्ष कार्कीका अनुसार गत आर्थिक वर्षमा पोखरा महानगरले पुल मर्मत गर्न बजेट व्यवस्थापन गरेपनि समन्वयको कमीले कार्यान्वयन भएको थिएन ।