संघियताका बारेमा अब सोच्नुपर्ने बेला आयो : काँग्रेस नेता भण्डारी

हिमाली आवाज । नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवं पूर्वमन्त्री शंकर भण्डारीले संघियताका बारेमा सोच्नुपर्ने बेला आएको बताउनुभएको छ ।

पोखरामा बुधबार पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता भण्डारीले संघियताले धेरै विकृति जन्माएको हुँदा यसको विकल्प खोज्नुपर्ने बताउनुभयो । जनतालाई अधिकार प्रदान गर्न स्थानिय तहको सरकारलाई नै बलियो बनाउनुपर्ने उहाँको सुझाव थियो ।

संविधानमा लेखिए अनुरुप निर्वाचन पद्धतीले काम गर्न नसक्दा संघियता प्रति जनताको वितृष्णा बढ्दै गएको नेता भण्डारीले बताउनुभयो । निर्वाचन प्रणालीले एउटै पार्टीलाई बहुमत आउन कठिन भएकाले पनि विकृति बढ्दै गएको उहाँको भनाई थियो ।

उहाँले समानुपातिक प्रणालीमा एउटै व्यक्तिले तिन पटक अवसर लिएको बताउँदै पहिचान भनेको विविधता हो, यसलाई हरेक पार्टीले गलत व्याख्या गरी संविधानको मर्म विपरीत काम गरेको समेत आरोप लगाउनुभयो ।

संघीयताले राष्ट्रिय सुरक्षामा समेत कमजोर बनाएकाले संघीयताका बारेमा पुनः ब्याख्या गर्न जरुरी भएको उहाँले दोहोर्याउनु भयो । देश बचाउने कुरामा पार्टीहरु संविधान संशोधन गरेर भएपनि एक हुनै पर्छ, उहाँले भन्नुभयो– राष्ट्रिय स्वाधीनता प्रति दलहरु विचलित हुनु हुदैन् ।

नेता भण्डारीले संविधानमा राखिएको धर्म निरिपेक्षता सम्बन्धी प्रावधान हटाउन जरुरी रहेको उल्लेख गर्दै वैदिक सनातन हिन्दू धर्म राष्ट्र घोषणा हुनुपर्ने भनाई राख्नुभयो । धर्म निरिपेक्ष घोषणा गरी राष्ट्र कमजोर बनाउने राजनितिक रुपमै डिजाइन भएको भन्दै धर्म निरपेक्षता घोषण गर्न नेताहरु विदेशीको दवावमा परेको पनि उहाँको आरोप थियो ।

नेपाललाई बलियो बनाउन सबै राजनीतिक दलका नेताको साझा प्रयास आवश्यक हुने भनाई उहाँको छ । देश रहेमा मात्र पार्टी र सरकार रहन्छ भन्दै राष्ट्रियताको सवालमा गम्भीर रहन सबैलाई आग्रह गर्नुभयो ।

पूर्वमन्त्री समेत रहनुभएका नेता भण्डारीले देशको अर्थतन्त्र नाजुक अवस्थामा रहेको हुँदा कर्मचारीलाई तलब खुवाउन सरकारले ब्याजमा पैसा खोज्नु परेको यथार्थ प्रस्तुुत गर्नुभयो । उहाँले ठेकेदारहरुलाई ८० अर्ब रुपैयाँ दिन बाँकी रहनु मुलुकको लागि राम्रो संकेत नभएको समेत बताउनुभयो ।यसका लागि सबै राजनीतिक दलहरु एकै ठाउँमा उभिएर देशको अर्थतन्त्र सुधार गर्नुपर्ने बताउनुभयो ।

भ्रष्टाचारको बारेमा बोल्दै नेता भण्डारीले राजनीतिक संकटका बेला दलहरुकै नेताबाट अपराधिक क्रियाकलाप र भ्रष्टाचारका घटना बाहिर आउँदा जनतामा झनैवढि राजनीतिक नैरास्यता छाएको बताउनुभयो ।देश बनाउने कुरामा पार्टीहरु संविधान संशोधन गरेर भएपनि एक हुनु पर्ने भनाई राख्दै अब राजनीतिक दलहरु नयाँ ढंगबाट अगाडि वढ्नुको विकल्प नरहेको समेत उहाँको भनाई थियो ।

Comments
Loading...