पोखराको फोहर व्यवस्थापनमा जुट्यो सहमति

हिमाली आवाज ।  पोखरा महानगर क्षेत्रको फोहर व्यवस्थापनमा दुई सातादेखीको उत्पन्न समस्या समाधान भएको छ ।

पोखरा महानगरले अस्थायी ल्याण्डफिल साइट बनाएको पोखरा—३२ लामेआहालका स्थानीयवासीको अवरोधपछि फोहर व्यवस्थापनमा समस्या भएकामा बिहीबार महानगर र फोहर विसर्जनका विरुद्ध गठित सङ्घर्ष समितिका बीचमा सहमति भएको हो ।

महानगरले ल्याण्डफिल साइटमा फोहोर व्यवस्थापन गर्दा दुर्गन्ध फैलिएको, सम्झौता बमोजिम पूर्वाधार निर्माण नगरेको र सडक हिलाम्मे भएको भन्दै स्थानीयवासीले ल्याण्डफिल साइटमा फोहर लैजान अवरोध गरेपछि केही दिन पोखराको फोहर उठ्न सकेको थिएन ।

स्थानीयवासीसँग वार्ता र सम्वाद गरी समस्या समाधान गर्न महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरा—२६ का वडाध्यक्ष नरेन्द्र थापा र वडा नं ३३ का अध्यक्ष रामचन्द्र अधिकारीलाई फोहोर व्यवस्थापनको अवरोध हटाई समाधान गर्ने जिम्मेवारी दिनुभएको थियो ।

वडाध्यक्षद्वयको पहलमा स्थानीय, संघर्ष समिति र महानगरका बीच लामेआहालमै १८ महिना फोहार विसर्जन गर्ने सहमति भएको महानगरले जनाएको छ ।

सहमति अनुसार फोहोर बोकेका गाडीहरू विर्सजनस्थलमा बिहान ६ बजेदेखि बेलुका ४ बजेसम्म प्रवेश गरिसक्नुपर्ने छ भने, तत्कालै माटोले फोहोर पुर्ने कार्य आवश्यकताअनुसार गर्नु पर्नेछ ।

विर्सजनस्थलबाट कुनै पनि कबाडीजन्य सामग्री सङ्कलन गरिने छैन । सहमति अनुसार लामोआहालमा क्षेत्रीय बसपार्क निर्माण सुनिश्चित गर्ने कार्य अगाडि बढाइनेछ ।

फोहोरमैला विर्सजनस्थलका प्रभावित नागरिकको स्वास्थ्य बिमा गर्ने र  फोहर मैला विर्सजनस्थलमा दुर्गन्ध नआउने गरी कीटनाशक विषादी छर्ने उल्लेख छ ।

स्थानीयहरूलाई सीपका आधारमा रोजगारीमा पहिलो प्राथमिकता दिइने  र विभिन्न विद्यालयहरुलाई सहयोग उपलव्ध गराउने लगायतका विषयहरू सहमतिमा उल्लेख रहेको महानगर प्रमुख धनराज आचार्यले जानकारी दिनुभयो ।

स्थानीयले फोहोर फाल्न रोक लगाउन अन्तरिम आदेशको माग गरी उच्च अदालत पोखरामा रिट दर्ता गरेकामा साउन २१ गते अदालतले अन्तरिम आदेश दिनु नपर्ने निर्णय गरेको थियो ।

त्यससँगै महानगरपालिकालाई लामेआहालमा फोहोर व्यवस्थापन गर्ने कानुनी बाटो समेत खुला भएको थियो  । त्यसपछि महानगरले १२ दिनपछि फोहर विसर्जन गरेको थियो ।

अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनसँगै विमानस्थल नजिकको वर्षोदेखीको ल्याण्डफिल साइटमा फोहोरमैला लैजान रोकिएको थियो ।

त्यसपछि महानगरले अस्थायी रुपमा छ महिनाका लागि भनेर लामेआहालमा  विसर्जन गर्दै आएको छ । महानगरले पोखरा—३३ को पूँडीटारमा आठ सय ५० रोपनी क्षेत्रफल जमिनमा फोहर प्रशोधन केन्द्र बनाउने तयारी गरेको छ ।

Comments
Loading...