पोखराका चोकहरुमा रहेका सालिक अब पार्कमा स्थानान्तरण गरिदै

हिमाली आवाज । पोखरा महानगरपालिकाले बजार क्षेत्रका मुख्य चोकहरुमा रहेका सबै सालिकहरु स्थानान्तरण गर्ने भएको छ ।

बजारका चोकहरुमा रहेका सालिकका कारण ट्राफिक व्यवस्थापनमा समस्या बढ्दै गएको भन्दै सालिकहरु स्थानान्तरण गर्न लागिएको हो ।
बजारमा राष्ट्रिय विभुति लगायत सबैका सालिकहरु एक महिनाभित्रमा पोखरा—१८ जामुनबोट स्थित विभुति पार्कमा राख्ने योजना महानगरको छ ।

महानगर प्रमुख धनराज आचार्यको अध्यक्षतामा आज महानगर कार्यालयमा बसेको सर्वदलीय÷सर्वपक्षीय बैठकले चोक तथा सडकमा रहेका सालिकहरू हटाउने निर्णय गरेको हो ।

महानगरमा क्रियाशील राजनीतिक दलहरू, सरकारी निकाय तथा सरोकारवाला सङ्घसंस्थाहरुसँग आवश्यक समन्वय गरी एक महिना भित्र स्थानान्तरण तथा व्यवस्थापन गरिने महानगर प्रमुख धनराज आचार्यले बताउनुभयो ।

महानगरले बजार क्षेत्रको ट्राफिक व्यवस्थापन लगायत अन्य कुरालाई समेत ध्यान दिँदै सडकका बिचहरूमा सालिक राख्न सक्ने अवस्था नभएको प्रमुख आचार्यको भनाई छ ।

उहाँले भन्नुभयो,“पोखराभित्र रहेका सबै सालिकहरूको सम्बन्धमा महानगरमा क्रियाशील राजनीतिक दलहरू, सरकारी निकाय तथा सरोकारवाला संघसंस्थाहरुसँग आवश्यक समन्वय गरी स्थानान्तरण.व्यवस्थापन गर्ने निर्णय गरेका छौँ । एक महिना भित्र सडकमा रहेका सबै सालिकहरूको व्यवस्थापन गरिसक्छौँ ।”

बैठकले साबिकको पृथ्वीचोक हालको लखनचोकमा नेपालमा प्रथम सहिद लखन थापाको सालिक अगाडी राखिएको राष्ट्रिय विभूति पृथ्वीनारायण शाहको तस्बिरलाई हटाई पोखरा महानगरपालिकामा सुरक्षित साथ राख्ने निर्णय समेत गरेको छ ।

पोखराका चोकहरूमा रहेका सालिकहरूको स–सम्मान व्यवस्थापन गर्ने सम्बन्धमा महानगरपालिका प्रतिबद्ध रहेको प्रमुख आचार्यले बताउनुभयो ।

सम्बन्धित सरोकारवालाहरूसँग छलफल गरेर, आवश्यक प्रक्रिया पूरा गरेर सडकमा रहेका सबै सालिकहरूको व्यवस्थापनको तयारी महानगरको छ ।

पोखरा महानगरपालिकाले निर्माण गरेको सहिद तथा विभूति पार्कमा बाजागाजा सहित सम्मानपूर्वक सबै सालिकहरूको व्यवस्थापनका लागि सबै सरोकारवालाहरू सहमत भएको महानगरले जनाएको छ ।

कास्कीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले राष्ट्रिय विभूतिहरूको सालिक सडकमा राख्नु भन्दा पनि व्यवस्थित ढङ्गले महानगरले व्यवस्था गरेको स्थानमा राख्नुनै उपयुक्त हुने बताउनुभयो ।

विवादको शान्तिपूर्ण समाधानमा जोड दिनुभएका घिमिरेले दीर्घकालीन रूपमा सडकमा सालिक रहन्नन् भन्ने कुराको जानकारी हुदाँहुदैँ पनि क्षणिक रूपमा सडकमा राख्ने विषयको वकालत गर्नु उपयुक्त नहुने बताउनुभयो ।

राष्ट्रले मानेका व्यक्तिहरूको सम्मान गर्नु नागरिकको दायित्व हुने भएकाले ती सम्मानित व्यक्तिहरूको सालिकहरू व्यवस्थापनको विषयलाई स्वार्थसँग जोड्न नहुने बताउनुभयो ।

बैठकमा सहभागी दलका प्रमुख तथा प्रतिनिधिहरूले सडकमा रहेका सालिकहरूको उचित व्यवस्थापनमा मतएक्यता प्रकट गरेका छन् ।
सडकको बिचमा सालिक राख्दैमा उनीहरूको योगदानको सम्मान नहुने भन्दै एकीकृत रूपमा सबै सम्मानित व्यक्तिहरूको प्रतिमा व्यवस्थापनमा दलहरूले जोड दिए । सरोकारवाला संघसंस्थाका प्रतिनिधिहरूले सालिकको विषय साझा अपनत्वको रूपमा सम्मानजनक व्यवस्थापन हुनु आवश्यक रहेको बताए ।

सामाजिक रूपमा कायम सद्भावलाई खलल पु¥याउने काम कोही कसैबाट हुन नहुने भन्दै उनीहरूले एक महिना भित्र सबै सालिकहरूको व्यवस्थापन विभूति पार्कमा गर्ने विषयमा सहमति जनाएका छन् ।

Comments
Loading...