गण्डकीका कृषि सेवाका कर्मचारी आन्दोलित, बुझाए मन्त्री र सचिवलाई ज्ञापनपत्र

हिमाली आवाज । गण्डकी प्रदेशमा निजामती सेवातर्फ कृषि सेवाका कर्मचारीहरूले मन्त्री र सचिवलाई ज्ञापनपत्र बुझाएका छन् ।

प्रदेश कृषि तथा भूमि व्यवस्था मन्त्रालय र मातहतका कर्मचारीहरुले संघीय निजामती सेवाका कर्मचारीहरू प्रदेशमा कामकाजमा आउने व्यवस्था विरुद्ध आज विभागीय मन्त्री महेन्द्रध्वज जिसी र सचिव सहदेव प्रसाद हुमागाईलाई ज्ञापन पत्र बुझाएका हुन् ।

कर्मचारी समायोजन ऐन, २०७५ बमोजिम स्वेच्छिक रुपमा समायोजन रोजेर संघमै समायोजन भएका कर्मचारीहरू आफ्नो अनुकूलता अनुसार प्रदेशमा पुनः कामकाजमा आउने र आकर्षक र शक्ति केन्द्रित अड्डा ओगटेर बस्ने जस्तो विकृति बढेको प्रदेशका कर्मचारीहरुको गुनासो छ ।
त्यसलाई रोक्नका लागि प्रदेश निजामती सेवामा कार्यरत कर्मचारीहरूले मन्त्रालयको ध्यानाकर्षण गराएका हुन् । प्रदेश कृषि सेवा कार्यरत कर्मचारीहरुले संयुक्त रुपमा हस्ताक्षर गरी आफ्नो असन्तुष्टि जाहेर गरेका छन् ।

संघीय निजामती सेवाका कर्मचारीहरू विभिन्न बहानामा प्रदेशमा कामकाज गर्न आइ तालिम, बैदेशिक भ्रमण, अध्ययन जस्ता कर्मचारीको उत्प्रेरणा र वृति विकासका क्षेत्रमा हालिमुहाली गरेको प्रदेशका कर्मचारीहरुको गुनासो छ ।

यस्तो विकृति रोक्न प्रदेश निजामती सेवा तर्फका कृषि सेवाका कर्मचारीहरू एकजुट भई प्रदेशको कृषि मन्त्रालय मार्फत प्रदेश सरकारलाई ध्यानाकर्षण र खबरदारी गरिने उनीहरुले जनाएका छन् ।

कर्मचारी समायोजन ऐन, २०७५ को दफा ९ को उपदफा ५ मा भएको व्यवस्था अनुसार संघबाट प्रदेशमा कामकाजका लागि आउने कर्मचारीहरू समेत प्रदेशको निजामती सेवामा बढुवा हुन योग्य हुन सक्ने व्यवस्था भएकोले उक्त व्यवस्थाले प्रदेशमा यस अघि नै समायोजन भएका कर्मचारीको वृति विकासमा नकारात्मक प्रभाव पर्ने बताइन्छ ।

Comments
Loading...