पोखरामा स्कुल जान हिँडेका तीन बालिका १२ दिनदेखी बेपत्ता

हिमाली आवाज । पोखरामा घरबाट विद्यालय हिँडेका तीन बालिका एकै दिन हराएका छन् । गत साउन १९ गते विद्यालय जान्छु भनी हिँडेका बालिका बेपत्ता भएपछि परिवारले खोजीका लागि हारगुहार गरेका छन् ।

पोखरा महानगरपालिका—२ विन्ध्यवासिनीका १४ वर्षीया मनिका परियार, १३ वर्षीया एलिसा परियार र १४ वर्षीया राधिका परिवार सम्पर्क विहिन भएका हुन् । तीनै जना बालिका हालसम्म पनि फेला नपरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

हराएका बालिकाका आफन्तका अनुसार घरबाट विद्यालय हिँडेका बालिका सो दिन विद्यालय भने पुगेका थिएनन् । हराएका मध्ये राधिका र मनिका राष्ट्रिय माध्यमिक विद्यालय र एलिसा बरपाटन माध्यमिक विद्यालयमा अध्ययनरत थिए ।

आफन्तले भने दुई बालिकाले फोनमा कुरा गरे पनि कहाँ कस्तो अवस्थामा रहेको जानकारी नभएको बताएका छन् । राधिका र मनिकाले अभिभावकसँग फोनमा कुरा गरेको बताइन्छ ।

परिवारका अनुसार बालिकाहरु हराउँदा बखत विद्यालयको पोसाक सेतो सट र निलो स्कट लगाएका थिए ।प्रहरीका अनुसार हराएका बालिकाका परिवारले घरबाट स्कुल जान्छु भनी हिँडेका र हालसम्म घरमा फर्की नआएका भनी खोजीका लागि प्रहरीमा निवेदन दिएका छन् ।

“आफन्त, इष्टमित्र समेतको सम्पर्कमा नआएको हुँदा खोजतलास गरी पाँउ भन्दै परिवारले जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएपछि खोजी कार्यलाई तीव्र बनाइएका छौँ । ” जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले भन्नुभयो ।

Comments
Loading...