—कृष्ण दवाडी
हिमाली आवाज । पोखरा उपत्यकाका ट्याक्सी आगामी भदौ १ गतेदेखी अनिवार्य मिटरमा सञ्चालन हुनुपर्ने भएको छ ।यातायात व्यवस्था कार्यालय सवारी कास्कीले ट्याक्सीहरुलाई मिटर अनिवार्य गरेको हो ।
पर्यटकीय शहर पोखरामा मिटरमा ट्याक्सी सञ्चालनका लागि वर्षोदेखी पहल भएपनि कार्यान्वयन हुन सकेको थिएन । मिटरमा ट्याक्सी नचल्दा यात्रुहरु ठगिएको गुनासा समेत बेला बेलामा आउने गरेका छन् ।
यातायात व्यवस्था कार्यालय सवारीले आज सार्वजनिक सूचना जारी गरी भदौ १ गतेदेखी अनिवार्यरुपमा विलिङ सहितको मिटर जडित ट्याक्सी सञ्चालन गर्न र मिटरमा बिल अनुसारको भाडा लिने गरी सेवा सञ्चालन गर्न आग्रह गरेको हो । कार्यालयले मिटरमा नहिँड्ने ट्याक्सी चालकहरुलाई कारवाही हुने समेत जनाएको छ ।
कार्यालयका प्रमुख डिल्लीराम रिजालले मिटरमा नचल्ने र अटेर गर्ने ट्याक्सीका चालकहरुलाई कारवाही हुने बताउनुभयो । विगतमा समेत मिटरमा सञ्चालनका लागि प्रयास र आग्रह हुँदै आएपनि यसपटक कार्यान्वयन गरी छाड्ने उहाँले प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।
कार्यालय प्रमुख रिजालले भन्नुभयो,“ट्याक्सी व्यवसायीका साथीहरुले समेत प्रतिवद्धता जनाउनुभएको छ । हामी एसपटक एक्सनमा जान्छौँ र कार्यान्वयन गरी छाड्छौँ ।” कार्यालयले ट्याक्सी मिटरमा सञ्चालन भए ÷नभएको बारेमा नियमित अनुगमन समेत गरिने जनाएको छ ।
“कार्यान्वयनको पाटोलाई प्रभावकारी बनाउन अनुगमनको योजना समेत बनाएका छौँ ।”रिजालले भन्नुभयो । कार्यालयका अनुसार भाडाकार ट्याक्सीको भाडा विसं २०७८ मा प्रदेश सरकारले समायोजन गरे अनुसार हुनेछ ।

प्रदेशले समायोजन गरेको पछिल्लो भाडा अनुसार १५ किमीभित्र यात्रा गर्दा सुरुआती दुई सय मिटरसम्मको रु ८० र त्यसपछि प्रति दुई सय मिटर बराबर रु १० कायम गरिएको छ । त्यसैगरी १५ किमीभन्दा बढी यात्रा गर्दा प्रतिकिमी रु ३७।५० का दरले भाडा लिनुपर्नेछ ।
भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले केहीदिनअघि आयोजना गरेको कार्यक्रममा ट्याक्सी व्यवसाय समितिका पदाधिकारीहरुले पोखरा उपत्यकाभित्र मिटरमा हिँड्ने प्रतिबद्धता जनाएका थिए ।विसं २०७८ फागुन १ गतेदेखि लागू हुने गरी प्रदेश सरकारले भाडादर समायोजन गरेपनि पोखराका ट्याक्सी मिटरमा चलेका थिएनन् । ट्याक्सीले मनपरी भाडा लिने गरेको भन्दै जनगुनासो उठ्दै आइरहेको थियो ।
पोखरेली ट्याक्सी सेवा प्रालिका अध्यक्ष प्रकाशमणि तिवारीले आफूहरु मिटरमा हिँड्न तयार रहेको बताउँदै पेट्रोलियम पदार्थको मुल्यवृद्धिका आधारमा सरकारले भाडादर समायोजन गर्नुपर्ने बताउनुभयो ।इन्धनको भाउ घटबढ हुँदा पनि स्वचालित रुपमा भाडादर कायम हुने व्यवस्था प्रदेश सरकारले गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
अध्यक्ष तिवारीले भन्नुभयो,“ इन्धनको मूल्यमा आइरहने उतारचढाव, बढ्दो महँगी जस्ता कारणले मिटर प्रणालीमा समस्या आउने गरेको छ । स्वचालित रुपमा भाडादर कायम हुने व्यवस्था प्रदेश सरकारले गर्नुपर्छ । एउटा प्रयोजनका लागि दर्ता भएको सवारीसाधन अर्कै काममा प्रयोग भइरहेको छ, रातो प्लेटका गाडीले पनि यात्रु बोकिरहेका छन्, यसलाई कडाइका साथ रोक्नुपर्छ ।”
यातायात कार्यालयले अनाधिकृत रुपमा सञ्चालन भएका एप तथा अन्य तवरले रातो प्लेट(निजी) सवारी साधन प्रयोगमा ल्याई भाडाको रुपमा सञ्चालन गरेको पाईएमा समेत कानुन बमोजिम कारवाही हुने जनाएको छ ।